तेह्रथुम–पाँचथर जोड्ने लम्बुघाट पुल १३ वर्षदेखि अलपत्र, संघर्ष समिति आन्दोलनको चेतावनी



तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्ने तमोर नदीस्थित लम्बुघाट मोटरेबल पुलको निर्माण १३ वर्षदेखि अधुरो रहँदा स्थानीयवासी निराश भएका छन्। पुल निर्माण कार्य तत्काल सम्पन्न गराउन पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि समाधान नआएको भन्दै संघर्ष समितिले चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ।

पुल निर्माण संघर्ष समितिका संयोजक संजयकुमार तुम्बाहाङ्फेका अनुसार निर्माण कार्य अघि नबढाइए कडा आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ। पुल निर्माणका लागि सम्बन्धित निर्माण कम्पनी, डिभिजन कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, तथा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पटकपटक डेलिगेसन तथा खबरदारी गरिए पनि कुनै ठोस परिणाम नआएको उनले बताए।

लम्बुघाट पुलको निर्माण १३ वर्षअघि सुरु भए पनि विभिन्न प्रशासनिक तथा प्राविधिक समस्याका कारण अलपत्र अवस्थामा रहेको छ। स्थानीय जनस्तरबाट बारम्बार निर्माण सम्पन्न गराउन माग उठे पनि सरकार र निर्माण कम्पनीले बेवास्ता गरेको गुनासो छ।

संघर्ष समितिले हालै बैठक बसेर आन्दोलनका सम्भावित चरणबद्ध कार्यक्रमबारे छलफल गरेको छ। समितिले सरकार र निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिँदै तोकिएको समयसीमाभित्र काम सुरु नभए कडा संघर्षका कार्यक्रम अघि बढाइने जनाएको छ।

स्थानीय बासिन्दाले पुलको अभावले आवतजावतमा निकै समस्या भइरहेको गुनासो गर्दै आए छन्। वर्षायाममा विशेष गरी खोलामा जलस्तर बढ्दा यात्रु तथा सवारीसाधन पार गर्न कठिन हुने गरेको छ। पुल निर्माण कार्यलाई तिव्रता दिन स्थानीय नागरिक र सरोकारवालाहरूले सरकारलाई दबाब दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्