सडक दुर्घटना ः एक वर्षमा राजधानीमा १९० जनाको मृत्यु



सुरेन्द्र सुवेदी, काठमाडौं
राजधानीमा एक वर्षको समयमा १९० जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । यो तथ्याङ्क गत आर्थिक वर्ष २०८१÷०८२ को हो ।
उपत्यकामा दनिक १९ वटा सवारी दुर्घटना हुने गरेको छ । जसमा दुई दिनमा सरदर एक जनाको मृत्यु हुन्छ । गत आर्थिक वर्षमा ७१६९ सडक दुर्घटना भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले बताउनु भयो । यो एक वर्षमा १९० जनाको मृत्यु भयो भने २७८ जना गम्भीर र ७६३१ जना सामान्य घाइते भए । ट्राफिक नियम पालना नगर्ने सवारी चालकबाट ४२ करोड १२ लाख ४३ हजार ९ सय ७३ रुपैयाँ जरीवानावापत राजश्व संकलन भएको प्रवक्ता एसएसपी खनालको भनाइ छ ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा २२९२ दशमलव २३ किलोमिटर सडक छ । यहाँ १६५९ जना ट्राफिक खटिएका छन् । उपत्यकामा २० लाख १८ हजार ४३९ सवारी साधन सञ्चालन हुने गरेका छन् । जसअनुसार एक जना ट्राफिक प्रहरीले १२२२ वटा सवारी साधन सञ्चालन गर्नु पर्छ । यो संख्याको तुलनामा ट्राफिकको संख्या अति न्युन हो । विश्वमा एक जना ट्राफिक प्रहरीले औषतमा २ सयदेखि ५ सय सवारी साधन सञ्चालन गर्ने अभ्यास छ ।


उपत्यकामा भएका दुर्घटनामा मोटरसाइकल र स्कुटर ६५३७, बस ९४१, कार र जिप ६०८, माइक्रो २८९, टिपर १९७ र टेम्पो १०२ वटा दुर्घटनामा परेका थिए ।दरबन्दीमा रहेका ट्राफिकमध्ये केही निरन्तरको तालिममा रहने, केही विदामा बस्नेजसतका कारण दैनिक रुपमा सडकमा खटिनेको संख्या भने करिव १ हजार ३ सय जनाको हाराहारीमा रहने गर्छ । जसका कारण सीमित सडक र बढ्दो सवारी साधन प्रयोगका कारण उपत्यकाका अधिकांश चोकमा कार्यालय समय बिहान ८ देखि १० र अपह्रान्न ४ देखि ६ बजेको समयमा जाम भइरहने गरेको ट्राफिक प्रहरीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्