काठमाडौं महानगरपालिकाद्वारा ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना
१६ फागुन, काठमाडौं – काठमाडौं महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ।
आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले विद्यालयहरूको शैक्षिक नतिजा सुधार, विद्यार्थीहरूमा परेको प्रभाव, सिकाइका नयाँ विधिहरूको प्रस्तुति र प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए।
शैक्षिक नवप्रवर्तन र गुणस्तर अभिवृद्धि
कार्यक्रम सञ्चालनमा सहभागी विद्यालय तथा संघसंस्थासँग सहकार्य हुने बताउँदै प्रवक्ता मानन्धरले विद्यालय शिक्षामा नवप्रवर्तन, स्तरोन्नति र आगामी शैक्षिक कार्यक्रमहरूका लागि आयामिक पृष्ठपोषण प्रदान गर्न मेला कोशेढुंगा सावित हुने अपेक्षा व्यक्त गरे।
वार्षिक परीक्षाको तयारीकै समय मेला आयोजना गर्दा शैक्षिक गतिविधिमा असर पर्ने हो कि भन्ने पत्रकारहरूको जिज्ञासामा, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले सैद्धान्तिक विषयको लिखित परीक्षाजस्तै, व्यवहारिक र प्रयोगात्मक कक्षाहरूको मूल्यांकन गर्न पनि थालिएको जानकारी दिए।
मेलाका मुख्य विशेषताहरू
महानगरपालिकाका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलाले शैक्षिक गुणस्तर सुधार, बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालय पूर्वाधार, शिक्षक क्षमता अभिवृद्धि लगायतका कार्यक्रम समेट्नेछ।
मेला आयोजनाका लागि सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरू सहभागी हुनेछन्। प्रदर्शनी र प्रस्तुतीकरणमा विद्यार्थीहरूको नै मुख्य भूमिका रहनेछ।
मेलाका अन्य विशेष कार्यक्रमहरूः
- विद्यार्थीहरूका नवीनतम सिकाइ गतिविधि प्रदर्शन
- बुक फ्री फ्राइडेअन्तर्गत ३५ वटा शैक्षिक उपसमूहका स्टलहरू
- सामुदायिक विद्यालयहरूले उपलब्ध गराउने ३० रुपैयाँमा दिवा खाजा
- नेपाल भाषा सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा, संगीत तथा गायन प्रदर्शनी
विद्यार्थी नमूना संसद र अन्य आकर्षणहरू
मेलाको मुख्य आकर्षण विद्यार्थी नमूना संसद अभ्यास हुनेछ। साथै,
- विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल
- मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइ प्रदर्शनी
- विद्यार्थी अनुभव झल्काउने १ हजारभन्दा बढी स्केचिङ र स्कल्प्चर प्रदर्शनी
- टिचर कलेज प्रोग्रामका गतिविधि तथा असल अभ्यासहरूको आदानप्रदान
- महानगरपालिकाका शैक्षिक गतिविधिसम्बन्धी सूचना केन्द्र
कार्यक्रमका तीन चरण
१. पहिलो चरण – फेस्ट (शैक्षिक मेला)
2. दोस्रो चरण – फागुन २३ गते साझेदार र सरोकारवालाले नजिकका सामुदायिक विद्यालय अवलोकन गर्ने योजना।
3. तेस्रो चरण – शैक्षिक क्रियाकलापका नवीनतम आयामबारे गोलमेच अन्तर्क्रिया।
महानगरको शैक्षिक सुधार योजना
काठमाडौं महानगरपालिकाभित्र हाल ८७ वटा सामुदायिक विद्यालयमा ६१,३२९ विद्यार्थी र ५२४ संस्थागत विद्यालयमा २,१०,९३४ विद्यार्थी गरी २,७२,२६३ विद्यार्थी अध्ययनरत छन्।
महानगरले शैक्षिक सुधारका लागि अनुसन्धानमा आधारित लगानी बढाइरहेको छ, जसअन्तर्गतः
- प्रारम्भिक बाल विकास सुधार
- विद्यालय पूर्वाधार विस्तार
- शिक्षक क्षमता अभिवृद्धि
- शैक्षिक सामग्रीको उपयोगिता अभिवृद्धि
- सूचना प्रविधिको प्रयोग र बुक फ्री फ्राइडे कार्यक्रम
- टिचर कलेज प्रोग्राम तथा नतिजा सुधार पहल
महानगर गौरव योजना र स्वर्णिम योजना
विद्यालय पूर्वाधार तथा शैक्षिक वातावरण सुधारका लागि महानगरले ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। साथै, ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ योजनाहरू पनि अघि बढाइएका छन्।
महानगरपालिकाले सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई व्यवहारिक र प्रयोगात्मक बनाउँदै उत्तरदायी नागरिक उत्पादन गर्ने लक्ष्य राखेको छ।