नेपालले एसिया कपको लागि चार खेलाडी श्रीलंका पठाउने
आइतबार , साउन ७, २०८०
काठमाडौं ,नेपालले एसिया कपको तयारीको लागि ब्याटर ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई श्रीलंका पठाउने भएको छ । नेपालले इमर्जिङ कपमा नभएका चार खेलाडीलाई श्रीलंका पठाउने भएको हो ।
दुई साता अघि नेपाली क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका गएको थियो । नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्ध ९ र पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको नेपाल समूह बी बाटै बाहिरिएको थियो ।
युएई एलाई नेपालले ३ विकेटले हराएको थियो । युएई ए विरुद्ध कुशल भुर्तेलले एक्लै ६ विकेट लिएका थिए । नेपाली टोली प्रतियोगिताबाट बाहिरिएपनि श्रीलंकामा नै बसेर एसिया कपको तयारी गरेको छ ।
इमर्जिङ कपमा तीव्र गतिका बलर करण केसी र सर्वाधिक अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ललाई विश्राम दिएको थियो । आरिफ शेख पारिवारिक कारण नाम फिर्ता लिएका थिए ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार क्यानले ज्ञानेन्द्र, करण, आरिफ र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई श्रीलंका विशेष प्रशिक्षणको लागि पठाउने तयारी गरेको छ ।
‘ज्ञानेन्द्र, आरिफ, करण र कमललाई श्रीलंका पठाउने कुरा भएको छ । नयाँ पासपोर्टको लागि बसेका छन् । सबैलाई एकैपटक पठाउने कुरा भएको छ । भोली सम्ममा को को जाने सबै थाहा हुन्छ’, पाठकले हाम्रो खेलकुदसँग भने ।