इजरायलद्वारा गाजामा पुनः सैन्य बल प्रयोग, हमासविरुद्ध आक्रमण जारी



गाजा, आइतबार – इजरायली सेनाले आइतबार गाजा पट्टीमा स्थलगत सैन्य कारबाही चलाएको छ। हमासद्वारा शासित क्षेत्रमा जारी द्वन्द्वको करिब एक हप्तापछि राफा शहरमा आक्रमण गर्दै इजरायली सेनाले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

लेबनानमा भएको घातक आक्रमण र यमनबाट क्षेप्यास्त्र प्रहार भएपछि इजरायली सेनाले गाजाका केही भागमा पुनः सैन्य बल परिचालन गरेको हो। जनवरीमा युद्धविराम पुनःस्थापना गर्ने प्रयास भए पनि पछिल्लो घटनाक्रमपछि इजरायलले थप कारबाही अघि बढाएको छ।

इजरायली सैनिक प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी वक्तव्यमा दक्षिणी राफा क्षेत्रमा “आतङ्कवादी सङ्गठनहरू” विरुद्ध सैन्य कारबाही सुरु गरिएको बताएका छन्।

एएफपीका अनुसार ड्रोनमार्फत पर्चा खसाल्दै स्थानीयलाई ताल अल-सुल्तान जिल्लाबाट उत्तरतर्फ जान आग्रह गरिएको छ। दक्षिणी गाजाको मुख्य शहर खान युनिसस्थित एक परोपकारी भान्साघरमा राहत सामग्री लिन गएका १९ वर्षीया इमान अल-बर्दाविलले विस्थापितहरूले भोजन र पानीको लागि सङ्घर्ष गरिरहेको बताइन्।

मानवीय संकट गहिरिँदै

इजरायली आक्रमण अघि नै गाजामा मानवीय संकट गहिरिएको थियो। मार्चको सुरुदेखि नै इजरायलले मानवीय सहायता प्रवेशमा रोक लगाउँदै बिजुली आपूर्ति कटौती गरेको छ। गाजाका २४ लाख नागरिकलाई यसले थप संकटमा पारेको छ।

इजरायली सेनाले उत्तरी गाजाको बेइट हानुन क्षेत्रमा हमासविरुद्ध सैन्य कारबाही तीव्र पार्दै सुरक्षा क्षेत्र विस्तार गरिरहेको जनाएको छ। शुक्रबार इजरायली रक्षामन्त्री इजराइल काट्जले हमासले इजरायली मागहरू वेवास्ता गरे गाजाको थप भूभाग कब्जा गर्न निर्देशन दिएको बताउँदै चेतावनी दिएका थिए।

हमासको प्रतिक्रिया

हमासले इजरायली बमबारीका कारण बन्धकहरूको ज्यान जोखिममा परेको आरोप लगाएको छ। बन्धकका परिवारहरूले पुनः युद्धविरामको माग गर्दै इजरायली कारबाहीको विरोध गरेका छन्।

इजरायली सेनाले आइतबार जारी वक्तव्यमा लडाकु विमानहरूले हमासका विभिन्न लक्ष्य तथा संरचनामा आक्रमण गरेको बताएको छ। युद्धविराम प्रयासहरू कमजोर भइरहेका बेला हिंसा अझ बढ्न सक्ने विश्लेषण गरिएको छ।  रासस

प्रतिक्रिया दिनुहोस्