महिलाहरु पुरुषको तुलनामा बढी संवेदनशील हुन्छन् : सरला न्यौपाने उप्रेतीे
नेपाल सरकारको सडक विभागअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गकी वरिष्ठ इन्जिनियर सरला
न्यौपाने (उप्रेती)ले पूर्वप्राथमिकदेखि स्नाकोत्तरसम्म पूर्ण छात्रवृत्तिमा अध्ययन गर्नु भयो। झापाको चन्द्रगढीमा जन्मनुभएकी सरला आमा लक्ष्मी र बुबा पूण्यप्रसाद न्यौपानेका चार सन्तानमध्ये कान्छी हुनुहुन्छ । झापाकै कलबलगुडी प्राथमिक विद्यालय, चन्द्रगढीको वीरेन्द्र उच्च माविमा अध्ययन गर्दै राजधानीको पुल्चोक इन्जिनियरिङ कलेजबाट स्नातक र स्नातकोत्तर उत्तीर्ण गर्नु भयो । उहाँसित केही पारिवारिक र मध्यपहाडी सडक आयोजनामा केन्द्रित भएर नेपाल प्रशासनका लागि गरिएको कुराकानीको संपादित अंश । वरिष्ठ इन्जिनियर सरला न्यौपाने (उप्रेती)
इन्जिनियरिङ विषय नै किन अध्ययन गर्नु भयो, अरु पनि विषय थिए नि ?
मैले फिजिक्स (भौतिक विज्ञान) विषयमा उच्च मावि तह पुरा गरेकी हुँ । मलाई गणित विषय धेरै मन पर्थ्यो ।, इन्जिनियरिङमै तयारी थालेँ । र, २०६६ मा छात्रवृत्तिमै बीई (ब्याचलर अफ ईन्जिनियरिङ) मा भर्ना भएँ । निजामति सेवामा महिला भएको कारण कुनै समस्या वा अप्ठ्यारो महसुस गर्नु भएको छ ? म लोकसेवा पास गरेर आएकी हुँ । निजामतीमा त्यस्तो भेदभाव छैन । म महिला भएको कारण काम गर्न सक्दिन होला भन्ने केही पुरुष साथीहरुलाई लागेको अनुभूति हुन्थ्यो तर, त्यस्तो भेदभाव सहनु परेको थिएन र छैन पनि । हाम्रो समाज पूरै परिवर्तन भएको छैन । त्यसैले महिलालाई सामान्य छेडछाड चाहिँ हुने गरेको महसुस गरेकी छु । मलाई परिवारबाट राम्रो सहयोग थियो । महिलाले विवाह गरेपछि भने घरको काम, अफिसको काम र बच्चा जन्मिएपछि समय व्यवस्थापन गर्न भने केही समस्या हुने रहेछ । सबै कुरा व्यवस्थापन गरेर नै आएँ ।
अहिलेसम्म कुनकुन ठाउँमा रहेर काम गर्नु भयो ?
लोकसेवा उत्तीर्ण गरेपछि मेरो पहिलो पोस्टिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भयो । त्यहाँ २ वर्ष काम गरेँ । त्यसपछि सडक डिभिजन कार्यालय भक्तपुर, अनि भक्तपुरकै सिपाघाट– नगरकोट सडक आयोजना, महेन्द्रनगर सडक डिभिजन कार्यालयमा २र२ वर्ष काम गरेँ । अनि खुला प्रतिस्पर्धाबाट उपसचिव भएँ । उपसचिव भएपछि इलाम सडक डिभिजन प्रमुख र अहिले मध्यपहाडी सडक आयोजनामा एक वर्षदेखि कार्यरत छु ।
हाम्रो समाजमा महिलाले पाएको कामका जिम्मा समयमा पूरा हुने र इमान्दारिता पनि राम्रो हुन्छ, भनिन्छ नि ?
महिलाहरु पुरुषको तुलनामा बढी संवेदनशील हुन्छन् । सानातिना कुरालाई पनि विशेष महत्त्व दिएर काम गर्छन् । त्यसैले हाम्रो समाजले महिलालाई जिम्मेवारी बहन गर्ने र इमान्दारको रुपमा लिएको हुनुपर्छ ।
अहिले मध्यपहाडी सडक आयोजनामा कार्यरत हुनुहुन्छ, यो आयोजनामा लागत बढ्ने र समय थप हुने भइरहेको छ, किन ?
यो आयोजना १० वर्षमा पूरा गर्ने भनिएको रहेछ । जग्गाको मुआब्जा वितरणमा ढिलाई, पर्याप्त बजेटको अभाव, निर्माण कार्यमा सहभागी हुने व्यवसायीले समयमा काम नगर्ने र समयमा ठेक्का पनि लगाउन नसकिएको कारण लागत र समय बढ्दै गएको हो ।
आर्थिक वर्ष २०८३र०८४ मा यो आयोजनाको निर्माण पूरा हुन्छ त ?
मैले भनिसकें नि, पर्याप्त बजेट, समयमा ठेक्का लगाउन र निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमै पूरा गरेको खण्डमा यो आयोजना निर्धारित समयमै पूरा हुन्छ ।

केही स्थानका मानव बस्तीलाई पाखा लगाएर यो लोकमार्ग बनाइएको भनिन्छ नि, खास के हो वास्तविकता ?
हो, केही स्थानमा मानव बस्ती बाहिरबाट पनि राजमार्ग खनिएको छ । त्यो समयमा डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) बनाउने बेला कमजोरी भएजस्तो लाग्छ । केही राजनीतिक दवावले पनि काम गरेको हुन सक्छ ।
यो राजमार्गले देशको समग्र विकासमा कस्तो योगदान गर्न सक्छ ?
देशका पहाडी क्षेत्रका २६ जिल्ला र ती जिल्लाका २१५ बस्ती जोड्ने यो राजमार्गबाट करिब १ करोड नेपाली प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यसैले यो राजमार्ग नेपालीको जीवनरेखा अर्थात लाइफलाइन हो भन्न सकिन्छ । देश विकासमा एक टेवा पुग्नेछ ।
अन्त्यमा इन्जिनियरिङ विषय लिएर पढ्न चाहने पछिल्लो पुस्तालाई के सुझाव दिनुहुन्छ ?
इन्जिनियरिङ पेसा राम्रो हो । यो विषयमा पढ्नका लागि सुरुदेखि नै तयारी गरेर आउनु पर्छ । हाम्रा भावी सन्तानले ‘इन्जिनियर बन्छु’ भनेर तयारीका साथ आएको खण्डमा पेसा राम्रो र विकास निर्माणमा केही योगदान दिन सकिन्छ ।

