‘पालिकाको विकास र निर्माणका काममा एमाले–माओवादीले राम्रो साथ दिएका छन्’: कुलुङ
सूर्य कुलुङ सोलुखम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । स्थानीय विद्यालयमा प्राथमिकसम्मको शिक्षा र त्यसपछि राजधानी काठमाडौं पसेर कलंकीको ज्ञानोदय माविबाट एसएलसी र उच्च शिक्षा रत्नराज्य क्याम्पसबाट लिनु भएका सूर्य सानै उमेरदेखि राजनीतिमा आकर्षित हुनु भयो । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको दुई कार्यकाल सोलु जिल्ला अध्यक्ष, नेविसंघकै केन्द्रीय सदस्य र पार्टीका केही विभागमा केन्द्रीय सदस्य रहनु भएका कुलुङ २०७९ को स्थानीय निर्वाचनमा अध्यक्ष पदमा कँग्रेसको तर्फबाट निर्वाचित भएका हुन् । अध्यक्ष कुलुङसित पालिकाको समग्र विकास निर्माणमा केन्द्रित भएर नेपाल प्रशासनका लागि गरिएको कुराकानीको संपादित अंश ।
सोलु जिल्ला विकटतासितै हिमाली जिल्ला भएका कारण विकास र निर्माणमा कस्तो सहजता या असहजता महसुस गर्नु भएको छ ? हाम्रो पालिकाको मुख्य समस्या भनेको सडक र खानेपानी हो । सडकको ट्याक ओपन भएको छ, तर त्यसलाई स्तरवृद्धि गर्न सकिएको छैन । पालिकाभर भएर बेरिएको इन्द्र कुलुङ चक्रपथ ६३ किलोमिटर लामो छ । यो सडक कालोपत्रे गर्नुपर्ने छ । तर, सरकारले जम्मा ३० करोड रुपैयाँमात्र दिएको छ । यो रकमले बढीमा ६ किलोमिटर सडक कालोपत्रे होला । बाँकी ५७ किलोमिटरका लागि बजेट छैन । खानेपानीमा १, ४ र ५ वडामा समस्या छ । पानीको मूल भएर पनि बजेट नभएर नागरिकलाई स्वच्छ र निरन्तर पानीको आपूर्ति गर्न सकिएको छैन । पालिकाको थोरै बजेटले केही पाइप खरिद गर्दै धारा जडान गरे पनि त्यो पर्याप्त नहुँदा समस्या छ । अन्य क्षेत्रमा पनि सानातिना समस्या छन् । तर ती स्थानीय सरकारले समाधान गर्न सक्छ, समय भने लाग्छ ।
यो चत्रपथमा पक्की पुल बने त ?
चत्रपथमा पर्ने थोकोदो, मुवाखोला र फुलवातीमा पुल बनेका छन् । अब बुदुङ र कङ्खोमा बन्दै छन् । वातेम्मामा बेलिब्रिज बन्दै छ । अरु पूर्वाधार केके बनाउनु भयो अर्थात बने ?
मेरै पालामा अर्थात यो तीन वर्षमा गुदले र छेस्काममा टेलिफोन टावर जडान भएका छन् । केही स्थानका टावरको स्तरवृद्धि गरिएको छ । चार जिबीको वाइफाइ र इन्टरनेट चलाउन सकिने भएको छ र चल्दैछन् । पालिकाका ५ वटै वडाका कार्यालय भवन निर्माण भएका छन् । पालिकाको प्रशासनिक भवन बन्दैछ । ६० प्रतिशत सरकार र ४० प्रतिशत पालिकाको खर्चमा तीन तले भवन बनिसकेको छ । अब चौथो तला बनाउनेक्रममा छ । त्यसका लागि एक करोड रुपैयाँ प्राप्त भएको छ । अस्पताल बनेको छ । चार जना चिकित्सकले सेवा दिइरहेका छन् ।
अब के गर्नु पर्ने छ पालिकामा ?
सरकारले सडक, खानेपानी र पर्यटनको क्षेत्रमा अति कम बजेट दिन्छ । थोरै रकमका कारण काम गर्न सकिएको छैन । आमादब्लु हिमाल, मेरा पिक, मरुन्जे, चाम्लाङ हिमाल, पाँचपोखरी जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, प्रचार प्रसार र होटलहरुको अभाव छ । यी क्षेत्रमा अब काम गर्नु पर्ने दायित्व पालिका र सरकारको हो । पालिकाले यस विषयमा सचेत भएर सीमित साधान र स्रोतले काम भने गरिररहेको छ । शिक्षाको क्षेत्रमा कस्तो छ अवस्था ?
हाम्रो पालिकामा रहेका १९ वटा विद्यालय र तीन उच्च मावि छन् । यस वर्षको एसईई परीक्षामा ९५ प्रतिशत नतीजा आएको छ । गुदेलमा कम्प्युटर विज्ञान र सगरमाथा उच्च माविमा प्राविधिक शिक्षाको पठनपाठन भइरहेको छ । समग्रमा शिक्षामा राम्रो छ पालिका । हामीलाई हिमालय ट्रष्ट, सेतो गुराँश र रिड नेपालजस्ता संस्थाले शिक्षाको क्षेत्रमा सहयोग गरिरहेका छन् । अनि स्वास्थ्य क्षेत्र ? १५ बेडको महाकुलुङ अस्पताल छ । ४ जना चिकित्सकले सेवा दिइरहेका छन् । पोष्टमार्टम पनि त्यहीँ गरिन्छ । २ वटा एम्बुलेन्स छन् । आँखा उपचार केन्द्र पनि सञ्चालनमा छ ।
कृषिको अवस्था कस्तो छ ?
हाम्रोमा कोदो र मकै मुख्य बाली हुन् । आलु, अलैचीं, चिराइतो नगदेबालीका रुपमा लगाइन्छ । पालिकाले कृषि उपकरणहरु सहुलियत मूल्यमा वितरण गर्दै आएको छ । इको हिमालले चिया, कफीमा लगानी गरिरहेको छ ।
अब के गर्न बाँकी छ पालिकामा ?
पर्यटन क्षेत्रको प्रचुुर सम्भावनालाई साकार रुप दिन दीगो योजना बनाएर अघिबढ्ने, महाकुलुङ एयरपोर्टका लागि करिव ३० प्रतिशत जमिन प्रूाप्त भएको छ, अब नपुग जमिनको व्यवस्था गरेर एयरपोर्ट बनाउनु पर्नेछ । विकास र निर्माणका काममा विपक्षी दलबाट कस्तो साथ सहयोग पाउँदै हुनुहुन्छ ? हाम्रो पालिकामा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसमेतका दलबाट विकास र निर्माणका काममा ठूलो सहयोग मिलिरहेको छ । हामी विकास र निर्माणका काममा साथसाथ हिंडिरहेका छौं । जसकै कारण पालिकामा यो तीन वर्षमा धेरै काम गर्न सकिएको छ । अबका दिनमा पनि हामी साथसाथ रहेर महाकुलुङ गाउँपालिकालाई सक्षम, पूर्वाधारयुक्त र आत्मनिर्भर पालिका बनाउन लागिरहनेछौं ।