सामाजिक सञ्जालको अति प्रयोग: पारिवारिक सम्बन्धमा बढ्दो दरार
विवेक शर्मा
काठमाडौं नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। फेसबुक, टिकटोक, इन्स्टाग्राम र युट्युबजस्ता माध्यमले सूचना आदान–प्रदानदेखि मनोरञ्जनसम्म सजिलो बनाइदिए पनि यसको अति प्रयोगले पारिवारिक जीवनमै गम्भीर असर पार्न थालेको पाइन्छ । सञ्जालमै झुम्मिने बानी बसेपछि घर–परिवारमा संवाद हराउँदै गएको छ । काठमाडौंकी रिता (नाम परिवर्तन) भन्छिन् – ‘साँझ घर फर्किन्छौं तर सबैको हातमा मोबाइल हुन्छ। बैठकमा बस्दा पनि आँखा मोबाइलमै गढेको हुन्छ। आपसी कुराकानी गर्ने बानी हराउँदै गएको छ।’ रिताको जस्तो अनुभव धेरै परिवारले गरिससके र गरिरहेका पनि छन् ।
चाडपर्व, पूजा–पाठ वा सामूहिक भेलामा समेत सदस्यहरू मोबाइलमै व्यस्त हुँदा आत्मीयता घट्दै गएको छ। बुढापाकाले यसलाई परिवारिक सम्बन्ध बिग्रन थालेको संकेतका रूपमा लिएका छन्। अध्ययनमा प्रत्यक्ष असर पर्न थालिसकेको छ । विद्यालय र कलेजका विद्यार्थी सामाजिक सञ्जालको लतमा अझ बढी फसेका छन्। उनीहरूले पढाइ वा गृहकार्यभन्दा बढी समय भिडियो हेर्न, लाइक–कमेन्ट गर्न र गेम खेल्नमै खर्च गर्ने गरेको शिक्षकहरूको गुनासो छ। शिक्षाविद्हरु सामाजिक सञ्जालले विद्यार्थीलाई आकर्षित गर्छ। तर लामो समय त्यसमै रमाउँदा पढाइमा चासो घट्छ र उनीहरू शैक्षिक रूपमा कमजोर बन्दै जाने बताउन थालिसकेका छन् ।

अभिभावकहरूले सन्तान मोबाइलमै हराउँदा अनुशासनमा पनि समस्या आएको बताउँछन्। यसकै कारण दाम्पत्य जीवनमा तनाव भइरहेको छ । सामाजिक सञ्जालको अति प्रयोगले पति–पत्नीबीच विश्वास र आत्मीयता कमजोर बनाइरहेको देखिएको छ। यो कुरामा समाजशास्त्रीहरु पनि सहमत छन् । ‘जीवनसाथीभन्दा भर्चुअल साथीलाई प्राथमिक दिन थाल्दा सम्बन्ध कमजोर हुन्छ। यसले सानो विवादलाई ठूलो बनाउँछ र कहिलेकाहीँ सम्बन्ध विच्छेदसम्म पुर्याउँछ।’– संखुवासभाका छिण्डुम भोटेको बुझाइ छ । भर्चुअल संसारमा रमाउने प्रवृत्तिले वास्तविक जीवनका सम्बन्धमै दरार ल्याइरहेको छ। यो समाज, परिवार समग्रमा देशकै लागि घातक बन्दै गएको छ ।
लामो समय मोबाइल प्रयोग गर्दा अनिद्रा, तनाव, चिन्ता, र डिप्रेसनको समस्या देखिने गरेको छ। दैनिक ६–७ घण्टा भन्दा बढी सामाजिक सञ्जालमा समय खर्च गर्नेहरूमा सामाजिक जीवन कमजोर हुन्छ। उनीहरू परिवार वा समाजभन्दा अनलाइन साथीमा बढी निर्भर हुन्छन्। यसले केवल मानसिक स्वास्थ्यमात्र होइन, शारीरिक स्वास्थ्यमा समेत असर पार्ने अध्ययनहरूले देखाएका छन्। सामाजिक सञ्जाललाई पूर्ण रूपमा निषेध गर्नु सम्भव छैन। तर यसको सन्तुलित प्रयोग आवश्यक छ। सञ्जालहरुको प्रयोगलाई कम गर्ने केही उपाय पनि छन् । जस्तो परिवारमा ‘मोबाइल–फ्री समय’ निर्धारण गर्ने र त्यो समयमा मात्र मोवाइल चलाउने, नानी बाबुहरुलाई सचेत गराउने, विद्यालय÷कलेजहरुले डिजिटल सचेतना कार्यक्रम सञ्चालन गर्ने र अभिभावकले आफैं पनि मोबाइल प्रयोगमा अनुशासन देखाउन सक्नु पर्छ । यसो भएमा यसको समुचित प्रयोग गर्न सकिन्छ ।
सामाजिक सञ्जाल आधुनिक जीवनको आवश्यकता र सुविधा दुवै हो। तर यसको अन्धाधुन्ध प्रयोगले परिवारिक सम्बन्ध, आपसी विश्वास, अध्ययन र मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको यथार्थलाई नकार्न सकिन्न। यदि समयमै सचेत हुन सकिएन भने यो प्रवृत्ति दीर्घकालीन रूपमा समाजका लागि घातक सावित हुने र देशका नागरिक कुनै न कुनै रुपमा परनिर्भर रहने देखिन्छ ।

