राजधानीमा ८४८ विपद् उद्धारमा दक्ष जनशक्ति
नेपाल प्रहरीले राजधानी उपत्यकामा यो वर्षाको समयमा हुने विपद्मा उद्धार र खोजका लागि ८ सय ४८ जना दक्ष जनशक्ति उत्पादन गरेको छ । जसमा ४ सय ८७ जना प्रहरी र ३ सय ६१ जना नागरिक छन् ।
यो वर्षामा विगतको भन्दा बढी वर्षा हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । ‘अधिक वर्षा हुने प्रक्षेपणसहित बाढी तथा पहिरोमा उद्धार र खोजका लागि प्रहरी आवश्यक सामानसहित तयारी अवस्थामा रहेको छ ।’– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले भने ।
अहिले उपत्यका प्रहरीसित रबर बोट ७, लाइफ ज्याकेट १ हजार ३९१, ट्युव १ सय ६० र लाइफ डोरी ६ हजार ३५४ मिटर रहेको प्रवक्ता एसएसपी खनालले जानकारी दिनु भयो । यस्तै प्रहरीसित अग्नी नियन्त्रण उपकरण २ हजार ११७, फायर सुट ४४ र ड्रिल मेसिन १६ रहेका छन् ।
यी उपकरण काठमाडौं, ललितपुर, भक्तपुर प्रहरी परिसर र १८ वटै वित्तमा भण्डारण गरिएको छ । आवश्यकताअनुसार प्रयोगमा ल्याउन तैनाथी अवस्थामा प्रहरी पनि राखिएको कार्यालयले जनाएको छ ।