‘कसैकसैलाई मुस्किल छ’ : रुपन्देही–३ मा
आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने संघीय संसदको उपनिर्वाचन ठूला दललाई ‘गलपासो’ हुने देखिएको छ । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले जनतालाई दिने सेवा तथा सुविधामा चौतर्फी आलोचना भइरहेको समयमा उपनिर्वाचन हुन लागेको छ । हालको सरकारमा रहेका मन्त्रीहरु एकपछि अर्काे गर्दै भ्रष्टाचारमा मुसिँदै जानु, जनताले परिणाममुखी सेवा तथा सुविधा नपाउनु, दैनिक हजारबढीको संख्यामा युवाहरु पलायन भइरहनु, अदालत सेटिङमा चल्नु, बिरोधीहरुलाई छानी
सुरेन्द्र सुवेदी
छानी अख्तियार लगाएर कारवाही गर्नु, नियुक्तिहरुमा मोलहिजा गर्नुजस्ता दर्जनौ काण्डमा सरकार फसेको नेपाली जनता जानकार छन् । यी र यस्ता रवैयाका कारणले पनि जनतामा वितृष्णा फेलनुलाई अन्यथा लिनु हुन्न । र यो दुईतिहाई निकटको सरकारबाट अब पनि आशा गर्ने ठाउँ नदेखिनु सामान्य बन्दै गएको छ । रुपन्देही ३ मा २०७९ मंसिर ४ गते भएको निर्वाचनमा राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए ।रोगले ग्रसित उनी निर्वाचनको समयमा भाषण गर्न सक्ने अवस्थामा थिएनन् । निर्वाचन प्रचारका कार्यक्रममा उनी उपस्थित हुन्थे तर बोल्न सक्देनथे । उनलेजनतासित प्रतिवद्धता बोलेर गर्न पाएनन् र पनि निर्वाचन जिते । उनलाई एमालेको साथ थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अति प्रियपात्र बालकृष्ण खाँड हमालसित पराजित बन्न पुगे । खाँडलाई माओवादी, माधवकुमार नेपालको पार्टी (एस) र केही मधेशवादी दलको साथ थियो । र पनि राप्रपाका बोहरा २ हजार ६८१ मतान्तरले खाँडलाई पराजित गर्न सफल भए । हमालले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाँणको ३४ हजार ३६ मत पाएका थिए । तेस्रो स्थानमा चित्त बुझाएको रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्रका जीतबहादुर गुप्ता तेलीले ५ हजार ७९६ मत मात्र पाए । बोहोराको गत वर्ष २०८१ चैत १९ गते निधन भयो । र, त्यहाँ उपनिर्वाचन हुन लागेको हो । देशमा पहिलो पटक ठूला दुई दल मिलेर सरकार बनेको छ । प्रष्ट बहुमत र ठूला दल मिलेर सरकार बनाउँदा पनि जनताका पक्षमा कुनै काम हुन सकेको पाइन्न । सरकारले जनताको मन जित्न सकेको छैन । जनता २०८४ को निर्वाचनमा बदला लिने भन्दै ‘नालायक’ सरकार उपमा लिएर सामाजिक सञ्जालमा कटु आलोचना गरिरहेका छन् । यहीबेला रुपन्देहीमा उपनिर्वाचन हुँदैछ ।
यो निर्वाचनमा देशका ठूला भनिएका कांग्रेस, एमाले र माओवादीले साख जोगाउन कठिन देखिन्छ । ठूला दल आफ्नो साख जोगाउन जस्तोसुकै तिकडम गर्ने तयारीमा छन् । नयाँ भनिएका दलतर्फ जनताको आकर्षण बढ्नु, रास्वपा अध्यक्ष रविशरण लामिछानेले सहकारीमा ठूलो रकम अपचलन गरेर कारवासमा बसिरहेपनि उनको पार्टीतर्फ जनताको आकर्षण बढ्दै जानुले ठूला दललाई पिरलो छ । ठूला दलका उमेद्वारलाई पराजित गरेर स्वतन्त्र रुपमा निर्वाचित भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले टिम नै बनाएर कुनै उमेद्वारलाई समर्थन गर्ने अवस्था पनि देखिन्छ । यस्तो अवस्थामा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलाई उमेद्वार छान्न पनि धौं धौं परिरहेकै छ। कांग्रेसमा अहिले तीन वटा गुट सक्रिय छन् । संस्थापनको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् । महामन्त्री गगनकुमार थापा र इतर समूह भनेर चिनिने डा शेखर कोइरालाका समूह सक्रिय रहेका हुन् । यी समूहमध्येबाट उपनिर्वाचनमा टिकट पाउने व्यक्तिलाई अर्का दुई समूहबाट अन्तरघात हुने आङ्कलन गर्न थालिएको छ ।
” पूर्व राष्ट्रपति भण्डारीले मदन भण्डारी फाउण्डेसनका नाममा पार्टीको सम्पर्क कार्यालय खोलिसकेको र त्यहाँबाट एमाले तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको डण्डा खाएका अर्थात पिसाइमा परेका रुष्ट नेता तथा कार्यकर्ता समेट्दै जाने रणनीति लिएको देखिन्छ ।”
जसकै कारण २०७९ मा पराजित खाँड निर्वाचनमा उमेद्वार बन्ने या नबन्ने निष्कर्षमा पुग्न सकेका छैनन् । जे जति मत भए पनि कांग्रेसमा अन्तरघात पक्का नै हुने बुझिएको छ । एमालेमा अहिले ‘रत्यौली नाच’ मञ्चन भइरहेको छ । पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीको पार्टी सदस्य नवीकरण गर्ने, पछि गरिएको छैन भन्ने र अन्ततः सदस्य नै नदिने पार्टी निर्णयपछि एक समूह नेतृत्वप्रति आक्रोसित बनिरहेको छ । पूर्व राष्ट्रपति भण्डारीले मदन भण्डारी फाउण्डेसनका नाममा पार्टीको सम्पर्क कार्यालय खोलिसकेको र त्यहाँबाट एमाले तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको डण्डा खाएका अर्थात पिसाइमा परेका रुष्ट नेता तथा कार्यकर्ता समेट्दै जाने रणनीति लिएको देखिन्छ । अहिले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच वाक युद्ध नै चलेको छ । यस्तो अवस्थामा एमालेको मत एकै चिन्हमा हानिन्छ भन्न सकिन्न । केपी ‘बा’ लाई देखाउनकै लागि पनि भण्डारी पक्षले केही अन्तरघात पक्कै गर्ने नै छ । हो, कांग्रेस र एमाले पार्टीमा देखिएका यी र यस्ता किचलोबीच हुने निर्वाचनमा नयाँ भनिएका दल वा स्वतन्त्र उमेद्वारले बाजी नमार्लान भन्न सकिन्न । यही मेसोमा आत्तिएका र साख जोगाउन धौं धौं पर्ने बुझेका कांग्रेस र एमालेको शीर्ष नेतृत्व रुपन्देहीमा संयुक्त रुपमा एक जनामात्र उमेद्वार बनाउने कसरतमा पनि लागिसकेको बताउन थालिएको छ । त्यसो भएमा ठूला दल र ती दलबाट बनेको सरकारबाट जनता र देशका लागि काम नगरेको, जनता रुष्ट भएको दावीलाई पुष्टि नै गर्छ । यदि कांग्रेस र एमाले मिलेको खण्डमा भने जित यिनै दलबाट उठेका साझा उमेद्वारको हुनेमा शंका छैन । हैन, गठबन्धन नगरी कांग्रेस र एमाले निर्वाचनमा होमिए भने ‘म बिदा कसैकसैलाई मुस्किल छ तनहुँमा’ गीत गाउँदै जनता हिड्न थाल्नेछन् । र, काठमाडौं महानगर, धरान र धनगढी उपमहानगरको स्थानीय निर्वाचनजस्तै नतिजा नआउला भनेर कुनै ‘माइकलाल’ ले भन्न सक्ने देखिन्न ।