प्रदेश १ को नामकरण किरात नै किन बैज्ञानिक ?



थाइन्द्र आङबुहाङ

पृष्ठभूमि ः
प्रदेश १ मा १४ जिल्ला छन् । १४ जिल्ला मध्ये ५ जिल्ला लिम्बुवान, ३ जिल्ला कोचिला र ६ जिल्ला खम्बुवान पर्दछ । ३ जिल्ला कोचिला मध्ये मोरङ जिल्ला पनि इतिहासको कालखण्डमा लिम्बुवान भित्र नै भएको इतिहासकारहरु बताउँछन् । यद्यपी उक्त क्षेत्र मधेश प्रदेशले पनि दावि नगरेको भने होइन् । प्रदेश छुट्याउन अगाडी अरुण पूर्वलाई मात्र लिम्बुवान मानिन्थ्यो भने पृथ्वी नारयण शाहले नेपाल एकीकरण गर्न अगाडिको इतिहासलाई हेर्ने हो भने लिम्बुवान सिक्किम र भारतको पश्चिम बंगालको केहि भाग दार्जिलिङ, कालिम्पोङ, मिरिक, कर्सियाङ मनिपुर आदिसमेत लिम्बुवान नै थियो । नेपाल एकिकरण र बेलायती उपनिवेश र सो उपनिवेशी साशक (इष्ट इण्डिया कम्पनी) विचको सन्धि (१८७२ को सुगौलीको सन्धि)ले गर्दा नेपालको भूभाग तीन देशमा विभाजन भएर लिम्बुवान खुम्चिन पुग्यो । पृथ्वी नारयण शाहले नेपाल एकीकरणको क्रममा गोरखाली सेनाले एकिकरण गर्नै नसकेको क्षेत्र हो पल्लो किरात लिम्बुवान । यसरी लिम्बुवानको छुट्टै इतिहास र पहिचान छ ।
किरात सभ्यता हो, जसमा आम किरातीहरु अटेको छन् । जसमा वल्लो किरात, माझ किरात र पल्लो किरात भनेर आम विदित् नै छ । पल्लो किरातमा लिम्बुवानमा एकिकरण भन्दा अगाडि लिम्बु याक्थुङ्वा हरुको मात्र वसोवास भएको पाइन्छ तर एकीकरण पछाडि अन्य जातिहरु पनि बसाइँसराई गरी बसोबास गरेको पाईन्छ । लिम्बुहरु लिम्बुवान भन्दा अन्य क्षेत्रमा भेटिन्दैन लिम्बुवानमा सबै जातिहरु थोरै मात्रामा जहिं तहिं पाईन्छ । स्पष्ट भाषामा भन्ने हो भने शाह वंशिय राजाहरुले गुप्तचरको रुपमा राखिएका थिए । नहारेका र नमासिने राजा भनेको पल्लो किरात लिम्बुवानको लिम्बु थिए । कालान्तरमा सोझोपनको फाईदा उठाउदै सबै हरण गरे । राज्य लिएर किपट दिए, किपटको कारण लिम्बुहरु झनै कंगाल भए । कतिपय सुब्बाहरु सरकारलाई तिरो बुझाउन नसकेर भागि सिक्किम चाहिं गए तर किपट क्षेत्रबाट आफ्नो जग्गा जमीनहरु बिक्री गरि अन्य क्षेत्रमा बसाई सरि जान सकेनन् । किपट जग्गा छिन्ति बिक्री गर्न नपाउने भए पछि अन्य क्षेत्रमा बसाइँ सरेर जाने कुरा असम्भव प्राय थियो । वास्तवमा लिम्बु (याक्थुङ्वा) ले खोज्ने किपट नभएरु वि.सं.१८३१ साउन २२ भएको गोरखा र लिम्बुवान विच भएको नुनपानी सन्धीअनुसारको स्वायत्त राज्य खोज्ने हो । जुन शाह वंशसंग भएको थियो ।

 

लिम्बु समुदायमा युमा र किराँतवीचको विवादको सन्दर्भमा ः
हाल आएर लिम्बु समुदायमा किरात र युमाको विषय लिएर व्यापक अन्तरविरोध छ । खासमा किरात सभ्यता हो । यो विशाल सभ्यता भित्र अनेक जात- जातिहरु अटेर रहेका छन् । हिन्दु सभ्यताको जति पुरानो इतिहास छ त्यति नै पुरानो किरात सभ्यताको पनि इतिहास छ । प्राचीन काल देखि नै हिन्दु सभ्यतासंग टक्कर गरेर आफुलाई जिवन्त राख्ने सभ्यता एक मात्र सभ्यता किरात सभ्यता हो भन्ने कुरामा विमती छैन् । युमा धर्म हो भने त्यसको सभ्यता के थियो ? युमा धर्म नै हो भने यसको दर्शन के हो ? केही स्पष्ट छैन । हामी भने यसैमा अल्झिएर रहेका छौं या अरुको लहै लहैमा छौं । भारतले भारतिय लिम्बुहरु र नेपालको लिम्बुहरुको संस्कार संस्कृतिमा एकरुपता ल्याउन चाहन्छ । त्यसैले सिक्कीम र भुटानमा सत्यहाङको अभियानलाई पनि रोकतोक लगाईएको छैन भने सिक्कीममा भएको युमा धर्मालाई नेपालमा विस्तार गर्ने नीति भारतको हो, जुन कामको लागि भारत सरकारले खर्च व्यहोरेको छ । किरात धर्म पनि त नेपालमा २०३६ साल देखि राई र लिम्बुहरुले लेख्न शुरु गरेका हुन । वि.सं. १९८८ साल वैशाख २४ गते सत्य धर्म मुचुल्का लेख्नु हुने नेपालको राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दले पनि हाम्रो धर्म किरात भन्नु भएको थिएन तर सम्बोधनमा हे किरातिहरु हो ः भनि सम्बोधन गर्नु भएको पाईन्छ । वि.सं. २००५ साल मा देहवसान हुनु भएकोमा उहाँको चेलाहरुले किरात धर्म लेख्नु भएको थिएन । सबैलाई सत्येहाङमा भनि चिनाउने गरिन्थ्यो । त्यो भन्दा अगाडिका राइ लिम्बुहरुलाई सोध्ने हो भने पनि आफुलाई किरात बताउने गर्दथ्यो तर किरातिहरु कहिल्यै हिन्दु थिएनन् । उनीहरुको आफ्नै भाषा, संस्कार, संस्कृति थियो तर प्रश्न उठ्छ धर्म चाहिं के थियो त ? यहाँ विश्लेषण गर्नु आवश्यक छ ।

किरात प्रदेश नै किन ?

नेपालको पुर्वी भेगलाई वल्लो किरात, माझ किरात र पल्लो किरात लिम्बुवान भनि तीन प्रदेश भएको नेपालको इतिहासमा नामाकरण गरिएको पाईन्छ । यसलाई हेर्दा पल्लो किरात लिम्बुवानको इतिहास भिन्नै छ । हाल माझ किरात र पल्लो किरात लिम्बुवानको एउटै प्रदेश हुँदाको अवस्थामा समस्या भएको छ । हुनत राईहरुले यस अगाडि खम्बुवान भन्ने गर्दथिए । १० वर्षे जनयुद्धको क्रममा र सो पछाडि मात्र केहि राईहरुले आफुलाई किरात भन्न लागेको हो । किरात जाति होईन सभ्यता हो, किरात राई वा खम्बुलाई मात्र जनाउने सभ्यता होईन । यस भित्र दशौं जातहरु पर्दछन् । शुरुमा राई, लिम्बु, सुनुवार र याख्खाले आफुलाई किरात दावि गरको भएता पनि हाल अन्य जातिले पनि दावि गरि १० जातिहरु भएका छन् भने डा.हर्ष बहादुर बुढामगरले मगर, सामाजिक अगुवा स्वर्गिय पद्म रत्न तुलाधरले उपत्यकाका ज्यापु समुदाय लगायतका केहि नेवारहरु र स्व डा.हर्क बहादुर गुरुङले पनि नेपालका अधिकत्तर जनजातीहरु किरात सभ्यता भित्र पर्दछ भनि भन्नु भएको थियो । विडम्बना हाल केहि लिम्बुहरु हामी किरात होइनौ भनि भन्न थालेका छन् ।
भारतलाई हिन्दुस्तान भनि चिनाईन्छ भने १ नं.प्रदेश किरात प्रदेश भन्दा अन्य कुनै नाम उपयुक्त हुदैन । किरात नामले सभ्यता हो, किरात पहिचान हो, किरात इतिहासमा उल्लेखित छ । सभ्यता धर्म हुन सक्छ । म लिम्बु भएको नाताले लिम्बुवान नामाकरण मलाई जायज छ तर मेरो ५ वटा जिल्लाले बाँकी ९ जिल्लाको पहिचान खर्लप्प खाई दिनु हुदैन । उनीहरुको अस्तित्व नामेट पार्न हुदैन । जनमतले पनि दिदैन भन्ने मान्यता छ । किनकी बाँकी जिल्लामा लिम्बु (याक्थुङ) हरु खासै बसेको पनि छैन र बसेको केहि जिल्लाहरुमा पनि केहि दशक अगाडि देखि मात्र बस्न थालेका हुन । यसर्थ किरात प्रदेश नामाकरण गरि ५ जिल्ला लिम्बुवान उप स्वायत्त प्रदेश, ३ जिल्ला कोच वा कोचिला उप स्वायत्त प्रदेश र बाँकि ६ जिल्ला खम्बुवान उप स्वायत्त प्रदेश राखिनु उपयुक्त हुन सक्छ ।
यसरी हामीले प्रदेशको नामाकरणमा सबैलाई साझा रुपमा पहिचान दिने नाम किरात नै हो । किरात ले सबैलाई समेट्न सक्ने ऐतिहासिक नाम हुन र हिजो पनि थियो भने आज पनि हुन पर्छ र यसमा हामीले गर्व नै गर्नु पर्छ ।

लेखक अधिबक्ता हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्