आज विश्व औलो दिवस र अन्तरराष्ट्रिय प्रतिनिधि दिवस मनाइँदै
काठमाडौँ, १२ वैशाख – आज विश्व औलो दिवस तथा अन्तरराष्ट्रिय प्रतिनिधि दिवस एकै साथ मनाइँदैछ। विश्व औलो दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठन (WHO) ले औलो उन्मूलनका लागि नीतिगत व्यवस्थासहित अझ सशक्त र प्रभावकारी रूपमा अघि बढ्न सबै देशका सरकारहरू तथा सम्बद्ध निकायहरूलाई आह्वान गरेको छ।सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय सहकार्य र समुदायको सक्रिय सहभागितामार्फत औलो उन्मूलन सम्भव हुने बताउनुभएको छ।
यसै दिन अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि मनाइन्छ। दोस्रो विश्वयुद्धपछिको पुनःनिर्माणका उद्देश्यले १९४५ अप्रिल २५ मा सान फ्रान्सिस्कोमा आयोजना गरिएको संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको सम्झनामा यो दिवस मनाइन्छ। सो सम्मेलनलाई ‘अन्तरराष्ट्रिय सङ्गठनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन’ पनि भनिन्छ।उक्त सम्मेलनबाटै संयुक्त राष्ट्रसङ्घ स्थापना गर्ने बीजारोपण गरिएको थियो। दुई महिनासम्म सञ्चालन भएको सम्मेलनमा ५० देशका ८५० प्रतिनिधिहरू सहभागी थिए।संयुक्त राष्ट्रसङ्घमा सदस्य राष्ट्रका प्रतिनिधि तथा उनीहरूको भूमिकाप्रति जागरूकता बढाउन सन् २०१९ मा महासभाले अप्रिल २५ लाई ‘अन्तरराष्ट्रिय प्रतिनिधि दिवस’ को रूपमा घोषणा गरेको हो।