त्रिविमा नेतृत्व संकट : उपकुलपति बरालको राजीनामा फिर्ता गराउने प्रयास तीव्र
२६ चैत, काठमाडौं — देशकै प्रमुख शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) गम्भीर नेतृत्व संकटतर्फ उन्मुख भइरहेका बेला उपकुलपति प्रा.डा. केसरजंग बरालको राजीनामा फिर्ता गराउने प्रयास तीव्र पारिएको छ। विश्वविद्यालयका रेक्टर खड्ग केसी र रजिष्ट्रार केदारप्रसाद रिजाल शनिबार पोखरा पुगेर बरालसँग भेट गरेका छन्।
झण्डै १० दिनअघि स्वास्थ्य कारण देखाउँदै उपकुलपति पदबाट राजीनामा दिएका बराललाई पुनः जिम्मेवारीमा फर्काउन त्रिवि नेतृत्व सक्रिय देखिएको हो। त्रिविका एक उच्च अधिकारीका अनुसार, “रेक्टर र रजिष्ट्रार सरले पोखरा पुगेर राजीनामा फिर्ता गराउने प्रयास गर्नु भएको हो।”बरालले पनि रेक्टर र रजिष्ट्रारसँगको भेटघाटको पुष्टि गर्दै भने, “उहाँहरू आउनु भएको हो। तर, थप कुरा पछि गरौंला।” बरालले भने।
रेक्टर केसीले त्रिविमा उत्पन्न नेतृत्व संकट समाधानका लागि सहकार्य अपरिहार्य भएको बताए। “हामी उहाँको नेतृत्वमा आएका हौं। विश्वविद्यालयमा समय–समयमा समस्या आइरहन्छन्, तर तिनको समाधान आपसी संवाद र सहकार्यबाट गर्नुपर्छ,” उनले भने।बरालले राजीनामा दिँदा सरकारी सवारी, पीएसओ, ल्यापटप लगायतका सुविधा फिर्ता गरी पोखरा फर्किएका थिए। अब उनको पुनः नियुक्ति हुने वा राजीनामा स्वीकृत हुने भन्ने अन्तिम निर्णय प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीको हातमा छ। स्रोतअनुसार, यो निर्णय आज साँझसम्ममा हुन सक्नेछ।बराललाई २०८० फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा त्रिवि उपकुलपतिमा नियुक्त गरिएको थियो। तर उनले केवल १३ महिनामै राजीनामा दिए। यद्यपि राजीनामाको औपचारिक कारण स्वास्थ्य देखाइए पनि, त्रिविभित्र करार शिक्षक तथा कर्मचारीलाई स्थायी वा करारमा रुपान्तरण गर्न परेको राजनीतिक र प्रशासनिक दबाब उनको राजीनामाको वास्तविक कारण हुन सक्ने विश्लेषण भइरहेको छ।
“कुलपतिको निर्णयपछि मात्र म धारणा सार्वजनिक गर्छु।” बरालले भने । यसले घटनाक्रम अझै निर्णायक चरणमा पुगेको संकेत दिन्छ।यसबीच त्रिविभित्र गहिरिँदो नेतृत्व शून्यता र अस्थिरताले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यसम्पादनमा असर पर्ने चिन्ता पनि थपिएको छ।