नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्षः सिछुआन–नेपाल व्यापार तथा सांस्कृतिक आदानप्रदान महिना सुरु
काठमाडौं, १७ चैत – नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र तथा व्यापार आदानप्रदान महिना चीनको सिछुआन प्रान्तीय राजधानी छेन्दुमा सुरु भएको छ।सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपाल महावाणिज्य दूतावासको संयुक्त आयोजनामा गत शुक्रबार औपचारिक रूपमा व्यापार आदानप्रदान कार्यक्रम (सिछुआन शृङ्खला) प्रारम्भ गरिएको हो।

समारोहमा सिछुआन प्रान्तीय विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल–सिछुआन सम्बन्धलाई क्रमशः प्रगाढ बनाउने उल्लेख गर्दै पोखरा महानगर प्रमुख नेतृत्वको पछिल्लो भ्रमण तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा हवाई सेवा सुरू भएपछि आपसी सम्बन्ध थप सशक्त भएको बताए।
छेन्दुस्थित नेपाल महावाणिज्य दूतावासका अनुसार पछिल्लो एक वर्षमा नेपाल–चीन सामाजिक तथा सांस्कृतिक आदानप्रदान उल्लेख्य रूपमा वृद्धि भएको छ। चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई व्यापार, पर्यटन तथा सांस्कृतिक सहकार्यले अझ मजबुत बनाएको धारणा व्यक्त गरे।
महिनाभर चल्ने सिछुआन शृङ्खला अन्तर्गत सिछुआन प्रान्तका विभिन्न सहरमा नेपाली उत्पादनको प्रदर्शनी, सांस्कृतिक आदानप्रदान कार्यक्रम तथा व्यापारिक बैठकहरू आयोजना गरिनेछ। महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिअनुसार यी गतिविधिले नेपाल–चीन सम्बन्धलाई सांस्कृतिक, आर्थिक तथा जनस्तरमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

