भरतपुरमा जापानी मेयरको टोलीलाई स्वागत, सहकार्यमा जोड
चितवन, १४ चैत – जापानको योकोसुका सिटीका प्रमुख (मेयर) कामिजी क्याटसुअकिसहितको टोलीलाई भरतपुर महानगरपालिकाले औपचारिक स्वागत गरेको छ। महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले टोलीलाई स्वागत गर्दै नेपाल–जापान सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
स्वागत कार्यक्रममा प्रमुख दाहालले नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा दौत्य सम्बन्ध स्थापना भई आपसी समझदारी, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य हुँदै आएको उल्लेख गर्नुभयो। साथै, नेपाल–जापान सम्बन्धलाई जनस्तरमा अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
सन् २०२३ को मार्च ६–१५ मा जापान भ्रमणका क्रममा भरतपुर महानगरपालिका र योकोसुका सिटीबीच आपसी हितका लागि समझदारी भएको स्मरण गर्दै दाहालले भरतपुरको फोहर व्यवस्थापनमा जापानको सहयोगको अपेक्षा रहेको बताउनुभयो।
योकोसुका सिटीका मेयर कामिजीले भरतपुरको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै जापानमा काम गर्न इच्छुक नेपालीहरूको अवस्थाबारे प्रत्यक्ष बुझ्न पाएको बताए। टोलीले जापानी भाषा अध्ययनको अवस्थाबारे पनि जानकारी लिएको छ।