प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
देउखुरी (दाङ), १४ चैत – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको अर्थ-राजनीति गम्भीर संकटमा रहेको बताएका छन्।आज घोराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हाल देखिएका समस्याको समाधान प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले गर्न सक्ने दाबी गरे। संविधानले राजनीतिक अधिकार सुनिश्चित गरे पनि वर्तमान शासकीय स्वरूपले अपेक्षित परिणाम दिन नसकेको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औंल्याए।
“प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अपनाएमा सरकार स्थिर रहन्छ र आर्थिक विकास संस्थागत हुन्छ,” उनले भने। साथै, उनले वर्तमान अस्थिरताले देशको आर्थिक वृद्धि अवरुद्ध गरेको उल्लेख गर्दै भने, “२०७२ को संविधानले राजनीतिक अधिकार दियो, तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन। त्यसैले जनतामा निराशा बढेको छ।”उनले सहमति जुटाएर ढिलो या छिटो प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए।