फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाले घुर्विसे पञ्चमी बजारको फोहोर व्यवस्थापन सुधार गर्न सामूहिक निर्णय
फाकफोकथुम, १३ चैत – फाल्गुनन्द गाउँपालिकाको सभाहलमा सम्पन्न फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाहरू बीचको संयुक्त बैठकमा घुर्विसे पञ्चमी बजारको फोहोर व्यवस्थापनको दिगो समाधानका लागि महत्वपूर्ण निर्णयहरू पारित भएका छन्। बैठकमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे, फाकफोकथुम गाउँपालिकाका उपाध्यक्ष कल्पना राई र अन्य सरोकारवालाहरूको विशेष उपस्थितिमा बजार व्यवस्थापनको दीर्घकालीन समाधानका लागि विभिन्न योजनाहरू निर्धारण गरिएको हो।

फाल्गुनन्द गाउँपालिका वडा नं ५ फाक्तेप पाँचथर र फाकफोकथुम गाउँपालिका वडा नं १ इलामको संगमस्थलमा रहेको घुर्विसे पञ्चमी बजारको अनुगमनका क्रममा पालिका अध्यक्ष वृजहाङ आङ देम्बे ।
बैठकको पहिलो निर्णय भनेको डम्पिङ साइटको व्यवस्थापन हो, जसअनुसार पुरानो सल्लाघारी डम्पिङ साइटलाई अस्थायी रूपमा प्रयोग गर्न मिल्ने निर्णय गरिएको छ। यसका लागि, फाल्गुनन्द गाउँपालिकाले प्राविधिक कर्मचारीमार्फत लागत स्टिमेट तयार गर्ने र आवश्यक डिजेल उपलब्ध गराउने भनेको छ, जबकि फाकफोकथुम गाउँपालिकाले स्काभेटर उपलब्ध गराउने सहमति गरिएको जनाइएको छ। साथै, बजार व्यवस्थापन समितिले साइटमा आवश्यक जनशक्ति र खाजा नास्ताको व्यवस्थापन गर्ने निर्णय गरेको छ।नयाँ डम्पिङ साइट निर्माणका लागि फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाले आपसी समन्वय गर्दै कार्य अघि बढाउने निर्णयसमेत लिइएको छ।सिसाजन्य र प्लास्टिक फोहोरको बर्गिकरण सम्बन्धी निर्णयमा पनि विशेष ध्यान दिइएको छ। सिसाजन्य फोहोरको व्यवस्थापनका लागि फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाले खरिदकर्तासँग समन्वय गरेर सम्झौता गर्नेछन्। यसले बजारबाट संकलित फोहोरलाई व्यवस्थित गर्ने प्रक्रिया सरल बनाउनेछ। साथै, प्लास्टिक फोहोरको पुनः प्रयोगका लागि संकलन र पुनः प्रयोगको योजना बनाइनेछ, र जथाभावी फोहोर फाल्ने व्यक्तिलाई जरिवाना गरिने निर्णय गरिएको छ।
फोहोर संकलनको लागि डस्टिवनहरूको व्यवस्थापनसमेत गरिएको छ। फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाले सहकार्य गर्दै विभिन्न रंगका डस्टिवन उपलब्ध गराउने निर्णय गरेका छन्, जसले फोहोरको संकलन प्रक्रिया सरल र व्यवस्थित बनाउनेछ।
साधन र जनशक्ति व्यवस्थापनको लागि पनि फाकफोकथुमसँग सहकार्य गर्दै काम गर्न निर्णय गरिएको छ साथै यस सहकार्यलाई अघि बढाउन तयारी पूरा भएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष आङदेम्बेले बताएका छन् । साथै, बैठकले फोहोरमैला कार्ड व्यवस्थापनको बारेमा पनि निर्णय गरिएको र प्रत्येक घरधुरीलाई कार्ड वितरण गरिनेछ, र जसले कार्ड प्राप्त नगरेका घरधुरीलाई सेवा उपलब्ध नगरिनेछ। साथै, हटियाको दिन फोहोर व्यवस्थापनका लागि कर असुली गर्ने र घर अगाडि नालीको व्यवस्थापनका लागि सूचना सम्प्रेषण र सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।
यस बैठकले घुर्विसे पञ्चमी बजारको फोहोर व्यवस्थापनलाई व्यवस्थित र दिगो बनाउन महत्त्वपूर्ण कदमको रुपमा लिइएको छ।

