नेपाल-जापान सम्बन्ध थप प्रगाढ बनाउने विषयमा सञ्चारमन्त्री र जापानी राजदूतबीच छलफल



नेपालका लागि जापानी राजदूत तोरु मायदा र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भयो। भेटका क्रममा मन्त्री गुरुङले जापानसँग नेपालको सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गर्दै आर्थिक तथा विकास सहयोगलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी गर्नुभयो। उहाँले नेपालमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताउँदै जापानी लगानीकर्तालाई थप प्रोत्साहन गर्न आग्रह गर्नुभयो।

मन्त्री गुरुङले नेपाल–२०२५ वर्ल्ड एक्सपो जापानको ओसाकामा आयोजना हुन लागेकोमा खुसी व्यक्त गर्दै यसले नेपाली उत्पादनको प्रवर्द्धन गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सन् २०२६ मा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइने र सोही वर्ष नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने जानकारी दिनुभयो। नेपालले जापानबाट थप विकास सहायता प्राप्त गर्ने अपेक्षा राख्दै उहाँले जापानलाई नेपालका प्रमुख विकास साझेदारका रूपमा प्रशंसा गर्नुभयो।

जापानका तत्कालीन विदेशमन्त्री कामीकावा योकोको नेपाल भ्रमण, २०२२ मा भएको नेपालका संघीय र प्रदेश निर्वाचन अवलोकन गर्न जापानी टोलीको सहभागिता, तथा नियमित उच्चस्तरीय भ्रमणहरूले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो। उहाँले जापानले नेपाललाई भौतिक पूर्वाधार, मानव संशाधन विकास, स्वास्थ्य, कृषि, वातावरण संरक्षण, र संस्कृतिको क्षेत्रमा निरन्तर सहयोग गर्दै आएकोमा आभार प्रकट गर्नुभयो।

राजदूत मायदाले नेपालप्रति जापानको गहिरो मित्रवत् सम्बन्ध रहेको बताउँदै दुवै देशलाई पारस्परिक हित हुने गरी सहकार्य विस्तार गर्ने धारणा राख्नुभयो। उहाँले जापानमा हाल करिब दुई लाख नेपाली अध्ययन, रोजगारी, र व्यवसायमा संलग्न रहेको जानकारी गराउँदै नेपाली समुदायको योगदानको प्रशंसा गर्नुभयो। जापानमा नेपालीहरूले ठूलो संख्यामा रेस्टुराँ सञ्चालन गरिरहेको उल्लेख गर्दै आफूलाई नेपाली परिकार दाल–भात मन पर्ने अनुभव समेत सुनाउनुभयो।

नेपाल भ्रमणको चाहना व्यक्त गर्दै राजदूत मायदाले विशेषगरी मुस्ताङ घुम्न जाने इच्छा प्रकट गर्नुभयो। मन्त्री गुरुङले लमजुङ जिल्लाको पर्यटन सम्भावना र प्राकृतिक सौन्दर्यबारे जानकारी गराउँदै नेपाल–जापान पर्यटन सम्बन्धलाई थप प्रवर्द्धन गर्न सकिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्