विश्व तापमान वृद्धि रोक्न थप योजना आवश्यक: मन्त्री शाही



काठमाडौँ, १३ चैत – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व तापमान वृद्धि रोक्न थप योजना आवश्यक रहेको बताउनुभएको छ।जर्मनीको बर्लिनमा जारी ‘पिटर्सबर्ग जलवायु संवाद’लाई मङ्गलबार सम्बोधन गर्दै उहाँले ब्राजिलमा यही वर्ष आयोजना हुने जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३०)मा प्रभावकारी योजना अघि बढाउनुपर्नेमा जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ।

विश्व मौसम सङ्गठनको पछिल्लो प्रतिवेदनले सन् २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा पुष्टि गरेको छ। मन्त्री शाहीले तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न थप पहल आवश्यक रहेको औँल्याउनुभयो।

उहाँले भन्नुभयो, यो संवाद सबै पक्षलाई एकताबद्ध गर्ने महत्त्वपूर्ण मञ्च हो। जलवायु जोखिममा रहेका हिमाली राष्ट्रहरू र अतिकम विकसित देशहरूले पर्याप्त सहयोग र राजनीतिक समर्थन पाउनु जरुरी छ।”

उहाँका अनुसार, नेपाल आफ्नो तेस्रो ‘राष्ट्रीय रूपमा निर्धारित योगदान (एनडिसी)’ प्रतिवेदन तयार पार्ने अन्तिम चरणमा रहेको छ, जुन चाँडै प्रस्तुत गरिनेछ। अन्य राष्ट्रहरूलाई पनि आफ्नो प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै मन्त्री शाहीले भन्नुभयो, हामी कोप–३० सम्मेलनमा जलवायु कोषलाई वार्षिक ३०० बिलियन अमेरिकी डलरबाट बढाएर १.३ ट्रिलियन अमेरिकी डलर पुर्याउने अपेक्षा राख्छौँ। यसले जोखिममा रहेका राष्ट्रहरूलाई अनुदानको पहुँच बढाउने र जलवायुजन्य हानि तथा नोक्सानी न्यूनीकरण गर्न मद्दत गर्नेछ।

मन्त्री शाहीले नेपालले आगामी जेठ २–४ गते काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’बारे जानकारी गराउँदै जलवायु जोखिममा रहेका पहाडी राष्ट्रहरू र अतिकम विकसित देशहरूको न्यायसंगत सङ्क्रमण मार्ग फरक हुने उल्लेख गर्नुभयो। सीमित स्रोत र पूर्वाधारका कारण यी राष्ट्रहरूले जलवायु जोखिमको असमान असर बेहोर्नुपरेको भन्दै उहाँले विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो।

पिटर्सबर्ग संवादमा सहभागी हुन मन्त्री शाही यही चैत १० गते जर्मनी प्रस्थान गर्नुभएको थियो। विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनसम्बन्धी बहुपक्षीय पहल र अन्तरराष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ।

यस संवादको १५औँ संस्करणमा जलवायु कूटनीति, तापमान नियन्त्रण, तथा जलवायु जोखिममा रहेका देशहरूलाई सहयोगका उपायबारे छलफल भइरहेको छ। पहिलो पटक नेपाल सरकारका तर्फबाट मन्त्री शाही सहभागी हुनुभएको छ।

उक्त कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायुविज्ञ मञ्जित ढकाललगायत सहभागी हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्