ओलाङचुङ्गोला सुक्खा बन्दरगाह निर्माणका लागि स्थानीयको माग, डिपिआर तयार पार्न आग्रह
फुङ्लिङ (ताप्लेजुङ), १३ चैत: नेपाल–चीन व्यापार प्रवर्द्धनको लागि ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माणका लागि स्थानीयले माग गरेका छन्। फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आग्रह गर्नुभएको हो।

नेपाल इन्टरमोडल यातायात विकास समितिले मङ्गलबार मन्त्रालयलाई पत्र पठाउँदै आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम अन्तर्गत सो परियोजना समावेश गर्न अनुरोध गरेको छ।समितिका कार्यकारी निर्देशक आशिष गजुरेलद्वारा पठाइएको पत्रमा व्यापारिक पूर्वाधारको विकास गरी मुलुकको आर्थिक गतिविधि प्रवर्द्धन गर्न सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीजस्ता संरचनाहरूको विकास आवश्यक रहेको उल्लेख गरिएको छ। ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने सडक निर्माण भइसकेको र उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा सबैभन्दा छोटो दूरीको सडक भएकाले सो क्षेत्रलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने समितिको निष्कर्ष छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले २०७८÷७९ मा सो नाकाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरी प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ। फक्ताङलुङ गाउँपालिका–७ कार्यालयले आवश्यक जग्गा उपलब्ध गराउने जानकारी दिँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको लागि अनुरोध गरेको छ।
समितिले सरकारसँग आगामी वर्षको नीति तथा कार्यक्रममा ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण परियोजना समावेश गर्दै बजेट विनियोजन गर्न पनि आग्रह गरेको छ।

