नेपाली चलचित्रमा फर्किन इच्छुक मनिषा कोइराला



काठमाडौँ, ११ चैत – वरिष्ठ अभिनेत्री मनिषा कोइरालाले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक रहेको बताउनुभएको छ। काठमाडौँमा जारी आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘सिनेमा संवाद’ कार्यक्रममा उहाँले नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर प्रस्ताव ल्याए काम गर्ने इच्छा व्यक्त गर्नुभयो।

मनिषाले नेपाली चलचित्रको विकासक्रमलाई नियाल्दै व्यावसायिक र कलात्मक दुवै पक्षमा आएको प्रगतिप्रति खुशी व्यक्त गर्नुभयो। उहाँका अनुसार, अहिले नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा स्थापित हुन सफल भएकाले यसको स्तर झनै उकास्नुपर्ने आवश्यकता छ।

बलिउडमा सशक्त पहिचान बनाउन सफल कोइरालाले पछिल्लो समय भारतीय निर्देशक सञ्जयलीला भन्सालीको वेब शृङ्खला ‘हिरामण्डी’मा अभिनय गर्नुभएको थियो, जसले नेपाल र भारतमा व्यापक चर्चा पायो।

राजनीति र चलचित्र निर्माणमा आउने योजना नरहेको बताउँदै उहाँले हाल एउटा पुस्तक लेखनमा संलग्न रहेको जानकारी दिनुभयो। महोत्सव आज साँझ समापन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्