शासनमा बसेर दुरुपयोग गर्नेहरू दण्डित हुनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ, ११ चैत – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्ष, बलिदान र रगतसँग साटिएको उपलब्धि भएको बताउँदै शासनमा बसेर दुरुपयोग गर्नेहरू दण्डित हुनुपर्ने स्पष्ट पार्नुभएको छ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनता आफ्नो सार्वभौमसत्ताका मालिक भएको बताउनुभयो। शासन व्यवस्थालाई बलियो बनाउन सरकार, राजनीतिक दल तथा सम्पूर्ण नागरिकको दायित्व रहेको बताउँदै भन्नुभयो ।“नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित गर्न यो व्यवस्थालाई मजबुत बनाउनु पर्छ। संविधानबाहिरको कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य हुँदैन” पौडेलले भने ।
इतिहासलाई साक्षी राख्दै उहाँले जहानीयाँ राणा शासन, पञ्चायती व्यवस्था तथा सक्रिय राजतन्त्रलाई नेपाली जनताले अस्वीकार गरेको स्मरण गराउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र हजारौँको संघर्ष र बलिदानबाट प्राप्त भएको बताउनुभयो।
उनको भनाई बुलेटमा
युवाशक्ति विदेश पलायन रोक्नुपर्ने आवश्यकता
राष्ट्रपति पौडेलले युवाशक्ति विदेश पलायन रोक्न उचित शिक्षा, स्वास्थ्य, उद्योग-व्यवसायको विकास, उत्पादन वृद्धिलगायत स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। विगतका कमजोरीहरूबाट पाठ सिक्दै समृद्ध नेपालको निर्माणमा लाग्न उहाँले सम्बन्धित सबैलाई आग्रह गर्नुभयो।
संघीयता कार्यान्वयन र स्थानीय सरकारको भूमिका
राष्ट्रपति पौडेलले सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याएको उल्लेख गर्दै संविधानको मर्मअनुसार स्थानीय सरकारले जनउत्तरदायी काम गर्नुपर्ने बताउनुभयो। साथै, कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार र उद्योग विस्तारलाई राष्ट्रिय समृद्धिको आधारका रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो।
सोलु र दूधकोशी नदी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाले मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उहाँले सगरमाथा क्षेत्रको पर्यटन विकास तथा साहसिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो।
“लोकतन्त्रले ल्याएको परिवर्तनलाई भुल्न हुँदैन”
अपर सगरमाथा मार्ग निर्माणका लागि भएका पहलको स्मरण गर्दै राष्ट्रपति पौडेलले डोल्पाको दुनैदेखि पूर्वी पहाडसम्म सडक सञ्जाल विस्तार भएकोमा खुसी व्यक्त गर्नुभयो। “नुन, तेल लिन भारी बोकेर कैयौँ दिन हिँड्नुपर्ने अवस्था लोकतन्त्रले बदलिदिएको छ। यो परिवर्तनलाई हामीले भुल्न हुँदैन,” उहाँले भन्नुभयो।