अतिरिक्त सचिव डा. टंक बाराकोटीले स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा पदबहाली गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा पदबहाली गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मन्त्रिस्तरीय निर्णयबाट उहाँलाई महानिर्देशक नियुक्त गरिएको हो।
मन्त्रालयमा १२औं तहमा कार्यरत डा. बाराकोटी सचिव पदका तीन प्रतिस्पर्धीमध्ये एक हुनुहुन्थ्यो। तर, सरकारले डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेपछि रिक्त रहेको विभागीय महानिर्देशक पदमा डा. बाराकोटीलाई नियुक्त गरिएको हो। यसअघि, डा. देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए।
डा. बाराकोटी लामो समय राजधानीबाहिर सेवा दिने चिकित्सकका रूपमा परिचित हुनुहुन्छ। १२औं तहमा बढुवा भएपछि मात्र उहाँ मन्त्रालयमा आएका थिए। त्यसपछि, मन्त्रालयको महत्त्वपूर्ण विभाग प्रमुखको जिम्मेवारी उहाँलाई दिइएको हो।

