कर्मचारीलाई गतिशील भएर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारीलाई सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले बदलिएको परिस्थितिअनुसार तयार भई ‘न्यूनतम साझा कार्यक्रम’ को लक्ष्यअनुसार काम गर्न निर्देशन दिएका हुन् ।
परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र सिंगो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,’ ‘विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ ।’ प्रधानमन्त्री दाहालले भने ।
समग्र कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रूपमा प्रस्तुत हुनुपर्नेमा दाहालको जोड थियो ।
विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने भन्दै प्रधानमन्त्री दाहालले तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी भएकाले यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्न आवश्यक रहेको बताए । आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालू आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्नसमेत निर्देशका छन् ।