आर्थिक तथा भौतिक रूपमा सहयोग प्रदान गर्ने इन्द्रमाया जबेगुलाई सम्मानपत्रद्वारा सम्मान
जिल्ला एथलेटिक्स संघ पाँचथरले संघलाई आर्थिक तथा भौतिक रूपमा सहयोग प्रदान गर्ने इन्द्रमाया जबेगुलाई सम्मानपत्रद्वारा सम्मान गरेको छ।
संघले बुधबार सम्पन्न दोस्रो बैठकको अवसरमा सदस्य जबेगुलाई सम्मान गरेको हो। उनले संघलाई सक्रिय राख्न तथा खेलकुद विकासका लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेकी छन्। ५३ वर्षीया जबेगुले आर्थिक मात्र नभई भौतिक सहयोग पनि गर्दै आएको एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पूर्णहाङ तुम्बापो (रेन्जो)ले बताए।
जबेगुले जिल्लाभित्र तथा बाहिर आयोजना हुने एथलेटिक्स गतिविधिमा सहभागी भई खेलाडीहरूलाई हौसला प्रदान गर्दै आएकी छन्। यही योगदानको कदर गर्दै संघले उनलाई सम्मान गरेको अध्यक्ष तुम्बापोले उल्लेख गरे।
यस्तै, प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन १३ गतेदेखि विराटनगरमा जारी प्रदेश खेलकुद महोत्सव–२०८१ अन्तर्गत एथलेटिक्स प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पाँचथरका खेलाडीहरूलाई पनि सम्मान गर्ने निर्णय भएको संघका उपाध्यक्ष भीम चेम्जोङले जानकारी दिए।
पुरुषतर्फ ५ किमि दौडमा दोस्रो स्थान हासिल गर्ने ओसन राई र महिलातर्फ ५ किमि दौडमा दोस्रो स्थान प्राप्त गर्ने पुष्पा शेर्मालाई सम्मान गर्ने निर्णय गरिएको छ।
पाँचथरमा एथलेटिक्स संघ २०८१ सालमा दर्ता भएको हो।