पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए दुर्भाग्यपूर्ण हुने प्रचण्डको चेतावनी
१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफ्नो पार्टी आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन्।
हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई-मधेश जागरण अभियान’ अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकारलाई वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह गरे।
‘बल प्रयोग दुर्भाग्यपूर्ण हुनेछ’
प्रचण्डले सरकारको कदमप्रति आपत्ति जनाउँदै भने, ‘झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाउने, प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने अवस्था सिर्जना गर्नु दुर्भाग्यपूर्ण छ। धेरै प्रहरी घाइते हुने स्थिति सरकार आफैंले बनाएको हो। वार्ता र संवादबाट यसको समाधान खोजियोस्। यदि सरकार अडिग रह्यो भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ।’
उनले पाथीभराको मुद्दा सांस्कृतिक, भावनात्मक र ऐतिहासिक विषय भएकाले यसलाई बल प्रयोग गरेर हल गर्न खोज्नु गम्भीर भूल हुने चेतावनी दिए।
‘समझदारीबाट समाधान खोज्नुपर्छ’
सरकारलाई बल प्रयोग नगर्न आग्रह गर्दै उनले भने, ‘यसलाई बल प्रयोग गरेर हल गर्ने दुस्साहस सरकारले नगरोस्। यदि बल प्रयोग गरेर भावनाको मुद्दालाई, इतिहास र पौराणिकताको विषयलाई दबाउने प्रयास गरियो भने त्यो दुर्भाग्य हुनेछ। खबरदारीसभामा बल प्रयोग नगर्नू। सबैलाई मान्य हुने समझदारीको माध्यमबाट विन-विनको बाटो खोज्नुपर्छ।’