विशेष सम्पादकीय : मुक्कुमलुुङ केवलकार खारेज गर



ताप्लेजुङ केवल भौगोलिक रूपमा सुन्दर भूमि मात्र होइन यो मुन्धुमी स्थलहरूले भरिपूर्ण एक आध्यात्मिक केन्द्र हो, जहाँ मुन्धुमले हजारौँ वर्षदेखि आफ्नो नाभी गाडेको छ। मुक्कुमलुङ को महिमा केवल प्राकृतिक र सांस्कृतिक दृष्टिले सीमित छैन, यो याक्थुङ सभ्यताको आध्यात्मिक मेरुदण्ड हो, जसले मुन्धुमी परम्पराको गहिरो जरा बोकेको छ।

आज, जब यो पवित्र स्थललाई व्यापारीकरणको दलदलमा धकेल्ने प्रयास भइरहेको छ, तब यो केवल भूमि रक्षा गर्ने विषय मात्र होइन प्रकृति,पर्यावरण,जैविक विविधता एवम् मुन्धुमी अस्तित्व र प्रकृति रक्षा गर्ने ऐतिहासिक लडाइँ हो। जनप्रतिनिधिहरुले शक्तिको दुरुपयोगबाट समाधान खोजिनु गलत हो । धनको मोहमा अभिमतको दुरुपयोग गर्नु जस्तै, सत्ताको लोभमा न्यायको तिलाञ्जली दिनु इतिहासका लागि कलंक हुनेछ।

हे ‘अमिर’हरू, ‘इन्द्र’हरू, ‘भट्टराई’हरू हो । के तपाईंहरू महाभारतका अर्जुन बन्ने प्रयत्न गर्नुहुन्छ? अर्जुनलाई श्रीकृष्णले युद्धका लागि आदेश दिए पनि, आफ्नै दाजुभाइ, आफन्त, साथीहरूलाई रणभूमिमा देख्दा उनले आफ्नो शक्ति र युद्धकला दुरुपयोग गरेनन्। तर तपाईंहरूले इतिहासले तपाईंलाई मुन्धुमको मुक्कुसाम्बा र महाभारतका अर्जुन बन्ने अवसर दियो, तर तपाईंहरूले त्यो सुनौलो अवसर गुमाउनुभयो। समयले यसको समीक्षा गर्नेछ ।

किपटका धनीहरूले दुई(चार रुपैयाँको लोभमा मुक्कुमलुङ जस्तो पवित्र थलोमाथि गिद्धे नजर लगाउनु कुनै पनि हालतमा क्षमायोग्य छैन। मुक्कुमलुङ केवलकारको विषय कुनै निश्चित समूहको पहिचानसँग मात्र सीमित छैन यो प्रकृति, मुन्धुम, माटो, जैविक विविधता, र वातावरणसँग गहिरो रूपमा गाँसिएको गम्भीर विषय हो।
केवलकार खारेजी स्थायी शान्ति र समृद्धिको आधार ः
राज्यले केवलकार निर्माणको निर्णय खारेज गर्दै मुक्कुमलुङलाई सांस्कृतिक विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्नुपर्छ। यसलाई स्थानीय र राष्ट्रिय समृद्धिको बलियो आधारका रूपमा विकास गर्नु नै न्यायोचित मार्ग हो। यति विशाल सम्भावना बोकेको यस क्षेत्रलाई केवल एकजना व्यापारीको नाफाका लागि राज्यशक्तिको चरम दुरुपयोग गरेर सुम्पिनु आत्मसमर्पण मात्र होइन, राष्ट्रिय अपमान हुनेछ। विगतको
रक्तपातको इतिहासदेखि सिकौं ःमाघ १२ गतेको झडपमा प्रहरीको गोली लागेर तीन जना गम्भीर घाइते भए, जसको बाँकी जीवन कष्टपूर्ण हुनेछ। हिजो फाल्गुण १० गते पुनः झडप भयो, जहाँ दर्जनौँ आन्दोलनकारी अंगभंग भएका छन्। यो किमार्थ सुखद विषय होइन । यदि स्थायी शान्ति, समृद्धि, र न्याय चाहिन्छ भने, केवलकार खारेजीको विकल्प छैन ।यो लडाइँ केवल मुक्कुमलुङको संरक्षणको लागि मात्र होइन, यो सम्पूर्ण पृथ्वी संरक्षण गर्ने ,वातावरण सन्तुलन कामम गर्ने र याक्थुङ सभ्यताको अस्तित्व बचाउने लडाइँ हो ।

प्रतिक्रिया दिनुहोस्