सभापोखरी गाउँपालिका– ६, नयाँबस्तीमा भएको आगलागी पीडितलाई १७ लाख रुपैयाँ बढी आर्थिक सहयोग



संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका– ६, नयाँबस्तीमा भएको आगलागी पीडितलाई १७ लाख रुपैयाँ बढी आर्थिक सहयोग जुटेको छ । गत माघ २ गते भएको आगलागीका पीडितलाई नेकपा एमालेले १२ लाख १८ हजार ४ सय ८४ रुपैयाँ सहयोग गरेको छ भने नेपाली काङ्ग्रेसले ४ लाख ८८ हजार ५ सय ५५ रुपैयाँ सहगोग गरेको हो ।

आगलागीबाट स्थानीय लालबहादुर लिम्बू, रामबहादुर र अमृता राई, निर्मला कालाखेती र सुशिल तामाङ्को घर जलेर नष्ट भएको थियो । उनीहरुलाई जनही २ लाख १७ हजार ७ सय रुपैयाँका दरले राहत उपलब्ध गराएको सभापोखरी नेकपा एमाले पालिकाका उपाध्यक्ष तिलक सुब्बाले जानकारी दिए ।

यस्तै आगलागी भएको घरमा भाडामा बस्ने गिता, उर्मिला, अनुष्का र कुमारी लिम्बूलाई जनही २५ हजार रुपैयाँदरमा राहत वितरण गरिएको छ । आगलागी भएका घरमा बसेर पसल र अध्ययन गर्ने दिनेश भट्टराई र सिमिस्का लिम्बूलाई जनही १५ हजार रुपैयाँ वितरण गरिएको छ ।

नेपाली काङ्ग्रेसका राहत संकलन संयोजक प्रेमकुमार लिम्बूका अनुसार काङ्ग्रेसले संकलन गरेको रकम पनि पीडितलाई वितरण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्