जहाज दुर्घटनाबारे प्राधिकरणसँग नवनियुक्त पर्यटनमन्त्री किरातीले लिए ब्रिफिङ
३ माघ, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किरातीले गत १ गते काठमाडौं देखि पोखरा जाँदा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेका छन् ।
मंगलबार मन्त्रालयमा पदभार ग्रहण लगत्तै उनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीसँग नेपालको समग्र हवाई सुरक्षाको अवस्थाबारे ब्रिफिङ लिएका हुन् ।उनले खोज तथा उद्दारको काममा भइरहेको कामको विषयमा समेत अधिकारीबाट जानकारी लिए । सो क्रममा उनले खोज तथा उद्दारको काममा कुनै कमी कमजोरी रहन नदिने आवश्यक सम्पूर्ण काम गर्न प्राधिकरणलाई निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।
गत आइतबार पोखरामा यती एयरलाइनसको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था अझै अज्ञात रहेको छ । खोजी कार्य अहिले पनि जारी छ । मंगलबार ४८ वटा शव काठमाडौं ल्याइएको छ । यती एयरलाइन्सका अनुसार शवहरुको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम थालिएको छ ।

