निजामती सेवामा एक मात्र ट्रेड युनियन राख्ने विषयमा छलफल निष्कर्षउन्मुख
काठमाडौं । संसदीय समितिमा छलफलका क्रममा रहेको विधेयक उपर अहिले छलफल भईरेको छ । छलफलमा संघीय निजामती सेवा विधेयकमा एउटा मात्रै कर्मचारीको ट्रेड युनियनको व्यवस्था गर्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् ,माओवादीको प्रष्ट धाराणा बन्न सकेको छैन भने राप्रपाले भने एउटै पनि कर्मचारी टे्रड युयिनय राख्नु हुन्न भन्ने कुरामा जोड दिएका छन् ।
प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँगको छलफलमा शीर्ष दल कांग्रेस र एमाले एउटै मात्रै ट्रेड युनियन राख्न सहमत भएका जनाएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दलगत ट्रेड युनियन खोल्न दिनै नहुने व्यवस्था निजामति सेवा विधेयकमा गर्नुपर्नेमा जोड दिए ।नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले यस विषयमा प्रष्ट धाराणा राखेनन् । ट्रेड युनियन राख्ने नराख्ने विषयमा माओवादीको धारणा विषयमा आफ्नो दलले कुनै निष्कर्ष र निर्णय नगरिसकेको पाण्डेले बताएका छन् ।आफ्नो दलको नेता एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत समितिको सदस्य भएकाले आवश्यकता परेमा बैठकमा सहभागी भएर पार्टीको धारणा राख्ने उनको भनाई छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले मुलुक समावेशी नभएसम्म आरक्षण सुविधा हटाउन नहुनेमा जोड दिए । निजामती कर्मचारी नागरिकका सेवक भएकाले ट्रेड युनियनका नाममा राजनीतिक दलका भातृ संगठन बनाउन नहुने उनको भनाइ छ ।
राले कर्मचारी ट्रेड युनियनले पेशागत संगठनका नाममा राजनीतिक दलको संगठनको काम गरिरहेको भन्दै ट्रेड युनियन जरुरी नै नरहेको बताए । निजी क्षेत्रमा ट्रेड युनियन जरुरी भए पनि निजामती सेवामा आवश्यक नै नरहेको उनको भनाइ छ ।
उनले भने, ‘कर्मचारी ट्रेड युनिनयनले पेशागत संगठनका नाममा पार्टीगत संगठनको काम गरिरहेका छन् । निजामतीमा युनियन आवश्यक नै छैन । निजी क्षेत्रमा मालिक पनि हुने भएकाले त्यहाँ ट्रेड युनियन हुनु जरुरी छ नै । तर निजामती सेवामा स्वयम् कर्मचारी नै मालिक हुन् । त्यसैले यहाँ दलगत मात्रै होइन, एउटा ट्रेड युनियन पनि जरुरी छैन ।’
राप्रपाकै सचेतक बिना लामाले पनि ट्रेड युनियनमा आवद्ध कर्मचारी राजनीतिक दलका कार्यकर्ता भएकाले यसलाई पुर्णरुपमा नै खारेज गर्नुपर्नेमा जोड दिए ।
उनले भनिन्, ‘ट्रेड युनियनमा आवद्ध कर्मचारी राजनीतिक दलका कार्यकर्ता बनेका छन् । युनियनलाई पुर्णरुपमा खारेज गरौ । ट्रेड युनियन भएकै कारण कर्मचारीमा काम गर्ने इच्छाशक्ति घट्दै गएको छ । दलगत रुपमा युनियन बनाउन यस विधेयकमै जसरी पनि रोकौ ।’
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का प्रमुख सचेतक रामप्रकाश चौधरीले यसअघि दलगत ट्रेड रहे पनि अब भने एउटा ट्रेड युनियन मात्रै राख्नुपर्ने पक्षमा आफ्नो दल भएको धारणा राखे ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा छलफलमा रहेको संघीय निजामती सेवा विधेयकको दफा १३१ मा निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी व्यवस्था रहेको छ । यसमा दलैपिच्छे ट्रेड युनियन बनाउन सकिनेगरी प्रस्ताव गरिएको छ । कार्यालय प्रमुख भई काम गर्नुपर्ने बाहेकका राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा मुनिका निजामती कर्मचारीले आफ्नो पेशागत हक हितका लागि राष्ट्रिय स्तरको निजामती कर्मचारीको ट्रेड युनियन गठन गरी सदस्यता लिन सक्ने व्यवस्था छ ।