विद्युतीय सवारीको उच्च रुपमा आयात बढ्यो
१० असोज, काठमाडौं । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९र८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ । तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको तथ्याङकले देखाएको छ ।
अर्थ मन्त्रालयको भन्सार विभागको रिपोर्ट अनुसार साउन र भदौमा ४१४ वटा विद्युतीय सवारीको आयात भएको छ । साउनमा मात्रै यो संख्या २११ थियो । साउन र भदौमा करिब १ अर्ब १९ करोड ४३ लाख रुपैयाँ मूल्यको इलेक्ट्रिक गाडी आयात भएको छ ।यस्तो आयातबाट सरकारले ४० करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । साउन र भदौमामा १ अर्ब १३ करोड ३९ लाख मूल्य बराबरको १०० किलोवाटसम्मका ४०२ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका १० वटा र २०० देखि ३०० किलोवाटसम्मका २ वटा बिजुली गाडी नेपाल भित्रिएका छन् ।
यो वर्षको आयात गत वर्षको तुलनामा २८१ प्रतिशत अर्थात् करिब तेब्बरले बढी हो । गत आर्थिक वर्ष २०७८को साउन र भदौ महिनामा १४३ वटा मात्रै विद्युतीय सवारी आयात गरिएको थियो ।