देशभक्त,अग्रगामी शक्तिहरुसँगको वृहत मोर्चा बनाउँदै माओवादीले एक्लै चुनाव लड्ने उद्घोष
१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ जनाएका छन् ।
पाँच दिनसम्म चलेको बैठक चलेको थियो । पाँचौ दिन सम्म चलेको समापन बैठकको सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका थिए । सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको प्रचण्डको जिकिर थियो । ‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरु, हाम्रा राजनीतिक कार्यदिशाहरु, हाम्रा दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकियोस्’, बैठकको निर्णय जानकारी दिदै प्रवक्ता सापकोटाले भने ।
यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरु जनतामा लैजान अप्ठ्यारो परेको ,एक्लै चुनाव लड्दा पार्टीको कुरा जनतामा राख्न सकिने अवसर मिल्ने निष्कर्ष समेत बैठकले निकालेको सापकोटाले जानकार दिए ।
बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी सँगसँगै बाँकी ‘देशभक्त र अग्रगामीहरुको संयुक्त मोर्चा पनि बनाउने कम्युनिष्ट पार्टीको पुनर्गठनका निम्ति निरन्तर प्रयास गरिने समेत बैठकले निर्णय गरेको छ ।