सप्तरीको फत्तेपुस्थित नेपाल वैंक सुरक्षागार्ड फुयालको हत्या आरोपमा एक पक्राउ
राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्ड ५५ वर्षिय पर्शुराम फुयालको बैशाख २७ गते मध्यराती बैंक परिसरमै रहेको क्वाटरमा हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । हत्याको आरोपमा सोही नगरपालिका ५ निवासी ३२ वर्षिय चन्द्र बहादुर सुवेदी पक्राउ परेका हुन् । बैंक लुट्ने प्रयासमा अवरोध पु(याउन खोज्दा फेुयालको हत्या भएको खुलासा भएको छ ।
प्रहरीको वयानको क्रममा बैंक लुटपाट गर्ने प्रयासमा फुयालले अवरोध गर्न खोज्दा खुकुरी प्रहार गरी हत्या गरेको आरोपिले स्विकारेका हुन् । शनिबार साँझ चितवनबाट पक्राउ गरेर राजविराज ल्याइएका चन्द्र बहादुर सुवेदीलाई प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ । सुवेदीले जागिर गएपछि बेरोजगार भएको र ऋणमा समेत डुब्दा परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना बनाएको र सो योजना सुरक्षागार्डको अवरोधले विफल हुने देखेपछि हत्या गरेको स्विकार गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए ।
डेढ वर्ष अघि मात्र सशस्त्र प्रहरी जवानबाट जागिर गुमाएपछि आर्थिक संकटमा परेका सुवेदीले बैंकमा लुटपाट गर्ने र रातारात धनी बन्ने उद्देश्यबाट प्रेरित भएर नै हत्या गरेको देखिएको प्रहरी उपरिक्षक बज्राचार्यको भनाई छ ।