सेवा केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह
दमौली (तनहुँ), २२ वैशाख : तनहुँका स्थानीय तहले वडाबाट प्रदान गर्ने सेवासुविधा जनताको नजिक पुर्याउन सेवा केन्द्र विस्तार गर्न थालेका छन् । जिल्लास्थित स्थानीय तहका वडा कार्यालयको केन्द्रबाट टाढा रहेका जनतालाई नजिकबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यसहित वडाको सेवा केन्द्र विस्तार गरिएको हो । भिमाद नगरपालिका–८ ले वडाको सेवा केन्द्र भानुमतीमा स्थापना गरेको छ । यसअघि अरौँदीमा वडा कार्यालय रहेकामा माथिल्लो भेगका जनतालाई वडा कार्यालयसम्म आएर सेवा लिन अपायक भएकाले सेवा केन्द्र स्थापना गरिएको वडाध्यक्ष अणबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको मागबमोजिम नै सेवा केन्द्र विस्तार गरेका हौँ । भानुमती भेगका जनतालाई अरौदीसम्म आएर सेवा लिन एक दिन छुट्याउनुपथ्र्यो, सवारी साधन कम चल्ने र हिँडेर आउनुपर्दा समस्या थियो । भानुमतीमै सेवा केन्द्र विस्तारपछि त्यस भेगका जनताले सहज ढङ्गबाट सेवा पाउनेछन् ।” उक्त सेवा केन्द्रबाट बिहीबार र शुक्रबार सेवा प्रदान गरिनेछ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताउनुभयो । यस्तै जिल्लाकै आँबुखैरेनी गाउँपालिका–५ र ६ को सम्पर्क कार्यालय विस्तार गरिएको छ । वडा कार्यालयबाट प्रदान गरिने सेवा सहज रूपमा वडावासीलाई प्रदान गर्न दुई वडा कार्यालयको सम्पर्क कार्यालय विस्तार गरिएको हो । आँबुखैरेनी गाउँपालिका–५ को वडा कार्यालयको सम्पर्क कार्यालय बरालुङबँेसीमा स्थापना गरिएको छ । सङ्घीय शासन प्रणालीअन्तर्गत सेवा प्रवाहलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप सशक्त र जनमुखी बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको वडाध्यक्ष सन्तोष गरूङले जानकारी दिनुभयो । उक्त वडाको प्रमुख कार्यालय सानोभञ्ज्याङमा रहेकाले बरालुङबँेसी र वरपरका बस्तीहरूका सर्वसाधारणलाई वडा कार्यालयसम्म पुग्न समय लाग्ने भएकाले सम्पर्क कार्यालय स्थापना गरिएको उहाँको भनाइ छ । आँबुखैरेनी गाउँपालिका–६ को सम्पर्क कार्यालय केही समयअगाडि प्युघरफाँटमा स्थापना गरिएको थियो । प्युघरफाँटमा सेवा कार्यालय विस्तार गरी सर्वसाधारणलाई सेवा दिन थालिएपछि सहज भएको छ । वडा नं ६ का सर्वसाधारणलाई घण्टौ पैदल तथा महङ्गो गाडी भाडा तिरेर सेवा लिन वडा कार्यालय आउनुपर्ने समस्याको अन्त्य गर्न पालिकाले प्युघरमा सेवा केन्द्र विस्तार गरेको वडाध्यक्ष दिलीप गुरूङले जानकारी दिनुभयो । सेवा केन्द्रमा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू दिइएको छ । हप्तामा दुई दिन उक्त सेवा कार्यालयबाट जनताले सेवा पाउने वडाध्यक्ष गुरूङले जानकारी दिनुभयो । त्यस भेगका जनतालाई वडा कार्यालयको केन्द्र हिलेखर्क जान समस्या भएपछि सहजताका लागि सेवा कार्यालय विस्तार गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस भेगका जनतालाई वडा कार्यालयको केन्द्रसम्म पुग्न एक दिनको समय छुट्याउनुपर्ने बाध्यता थियो । अब सेवा कार्यालयबाटै सहज रूपमा जनताले सेवा पाउनेछन् ।” गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनताले सहज र सरल तरिकाले सेवा पाउनुपर्ने बताउनुभयो । जनप्रतिनिधि जनताका शासक नभई सेवक भएकाले जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “हिलेखर्कसम्म पुग्न अप्ठ्यारो परिरहेको थियो । प्युघर क्षेत्र वरिपरिका बस्तीका जनतालाई सहज र छिटो सेवाहरू उपलब्ध गराउन सेवा कार्यालयबाट सहज हुनेछ ।” चुमानले सेवा कार्यालयले जनतासँगको निकटता बढाउने र प्रशासनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस कार्यालयले जनतालाई एक स्थानबाट सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था गर्नेछ । यो कार्यालय खोल्नुका प्रमुख उद्देश्य भनेको जनतालाई स्थायी र दीर्घकालिन रूपमा सेवा दिने हो ।” —