मुख्यमन्त्री कार्कीको सालीलाई करारमा कम्प्युटर अपरेटरको नियुक्ति दिइयो
१७ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको पर्यटन विकास आयोजनामा आफ्नी साली शोभा बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्ति दिएका छन् ।कोशीको पर्यटन विकास आयोजना पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्छ । सो मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता गणेश उप्रेतीले सम्हालिरहेको मन्त्री उप्रेतीले आज राजीनामा दिएका छन् ।
मन्त्री उप्रेतीले कर्मचारी नियुक्तिको तयारी गरिरहेका बेला मुख्यमन्त्री कार्कीले आयोजना प्रमुख कुलदीप यादवलाई नियुक्तिका लागि बस्नेतको नाम पठाएका थिए । स्रोतका अनुसार मुख्यमन्त्रीको निर्देशनपछि यादवले बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका थिए ।
यादवले भने कम्प्ययुटर अपरेटरमा नियुक्त बस्नेत र मुख्यमन्त्रीको सम्बन्धबारे आफूलाई थाहा नभएको बताए । आयोजनाले सबै कर्मचारी करारमा नियुक्त गरेको र त्यसका लागि विज्ञापन भने नगरिएको जानकारीमा आएको छ ।
आयोजनाका १४ जना इन्जिनियर र सवइन्जिनियरको नियुक्ति पनि प्रतिस्पर्धा बिना नै भएको आयोजना प्रमुख यादवले बताए । ‘करार नियुक्ति हो, २–२ महिनाको म्याद हुन्छ, आवश्यकता अनुसार राख्ने हो’, उनले भने ।
चालु आर्थिक वर्षमा पर्यटन विकास आयोजनाका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो आयोजनामार्फत प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।
१३ मंसिरमा पारित भएको कोशी प्रदेशको बजेटले पाचौं तहको कम्प्युटर अपरेटरको दरबन्दी सिर्जना गरेको थियो । सोही दरबन्दीमा मुख्यमन्त्री कार्कीले आफ्नी सालीलाई नियुक्त गर्न लगाएका हुन् ।यसबाट पनि थाहा हुन्छ कि नेपाली राजनीति नातावाद,कृपावादमा चुर्लुम्म डुबेको छ भन्ने तथ्य ।