तीनकुने झडपमा एकको मृत्यु, आन्दोलन यति टाढा पुग्छ भन्ने सोच थिएन : गृह मन्त्रालय
काठमाडौँ — गृह मन्त्रालयले राजावादी समूहको आन्दोलन अपेक्षाभन्दा उग्र बनेको जनाएको छ। मन्त्रालयका सहसचिव छविराज रिजालले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा राजनीतिक दलको संलग्नताका कारण आन्दोलन यति टाढा पुग्ने अनुमान नगरेको बताए।”एउटा राजनीतिक दलसमेत सहभागी भएको आन्दोलन यो हदसम्म जाँदैन भन्ने अपेक्षा थियो,” उनले भने। रिजालका अनुसार सुरक्षा निकाय
ले तोकिएको मापदण्डअनुसार नै बल प्रयोग गरेको दाबी गरे।
शुक्रबार तीनकुनेमा आयोजना गरिने भनिएको सभामा सहभागी हुने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले प्रहार गरेको गोली लागी एक जनाको मृत्यु भएको छ भने मृतकको पहिचान खुलिसकेको छैन। झडपमा १५ जना प्रहरी र एक दर्जन प्रदर्शनकारी घाइते भएको गृह मन्त्रालयले जनाएको छ।त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा सुवास आचार्यका अनुसार घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृतकको शव पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइएको छ।यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएका फुटेजहरूमा प्रदर्शनकारीले प्रहरीको बन्दुक खोस्ने प्रयास गरेको र उनीहरूमाथि आक्रमण गरेको देखिन्छ। प्रदर्शनकारीहरूले निजी घर, पसल, सञ्चार गृह तथा सरकारी सम्पत्तिमा आगजनी र तोडफोड गरेका छन्। कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरिएको छ भने भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको छ।
राजावादी समूहले विभिन्न स्थानबाट जुलुस निकालेर तीनकुनेमा सभा गर्ने योजना बनाएको थियो। तर, सभा सुरु हुनुअघि नै प्रदर्शन हिंसात्मक बनेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो।
यस आन्दोलनको नेतृत्व नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गरेको छ भने दुर्गा प्रसाईंलाई जनपरिचालनको जिम्मा दिइएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि आन्दोलनलाई समर्थन गरेको छ।