अन्नपूर्ण क्षेत्रमा पर्यटकको चहलपहल बढ्दो



गण्डकी, ११ चैत – दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको चहलपहल बढेको छ। ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार गत सातादेखि विदेशी र आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, घोडेपानी, मुक्तिनाथलगायत गन्तव्य पर्यटकका प्रमुख रोजाइमा परेका छन्। गत वर्ष अन्नपूर्ण क्षेत्रमा २ लाख ४४ हजारभन्दा बढी विदेशी पर्यटक पुगेका थिए, जुन अहिलेसम्मकै उच्च सङ्ख्या रहेको ‘एक्याप’का प्रमुख डा. रविन कडरियाले जानकारी दिनुभयो।

पोखरालाई पर्यटन राजधानी घोषणा गरेपछि यो क्षेत्रमा पर्यटक आकर्षण थपिएको बताउँदै अध्यक्ष आचार्यले पुराना पदमार्गहरू सडक निर्माणका कारण सङ्कटमा परेकाले तिनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन र संस्कृति अवलोकन गर्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। पर्यटक सुविधालाई थप व्यवस्थित बनाउन पूर्वाधार विकास आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्