मेची कोशीका भूभागलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा आठौं प्रदेशको माग



  • २०८० फाल्गुण २६
    इलाम बजारमा सम्पन्न किरात याक्थुङ चुम्लुङको २५ औँ राष्ट्रिय चुम्लुङ(बैठकले)ले कोशी प्रदेशको नामाङ्कनमा असहमती जनाउँदै ऐतिहासिक पृष्ठभूमिको आधारमा अरूण कोशीपूर्व मेचीसम्मको भू–क्षेत्रमा ‘लिम्बुवान’ आठौँ राज्य प्रदेश निर्माण लागि  माग गरेको छ ।  सरोकारवालासँग छलफल नै नगरी अलोकतान्त्रिक तरिकाले तत्कालिन १ नम्बर प्रदेशलाई २०७९ फागुन १७ गते एकल जातीय र गोत्रीय नामको आधारमा ‘कोशी’ नामाकरण भएको भन्द्रै चुम्लुङले नामाकंनप्रति घोर आपति, निन्दा र भर्तसना गर्दै साविक १ नम्बर प्रदेशलाई लिम्बुवान किरात नभए कोशी पारिका भू्भागलाई लिम्बुवान स्वायत्त राज्यको रुपमा आठौं प्रदेशको रुपमा घोषणा गर्न माग गरेको हो ।


चुम्लुङका सङ्घीय महासचिव निरन्ती तुम्बापोद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत  बैठकले समसामयिक प्रस्तावहरूमाथिको पारित गरेका  प्रमुख निर्णयहरु सार्वजनिक  गर्दै जानकारी दिइएको छ । ।बैठकले ताप्लेजुङ जिल्लाको पवित्र धार्मिक क्षेत्र मुक्कुम्लुङमा केवलकार निर्माण योजना तत्काल खारेज गर्न र सो केवलकार निर्माण सफल बनाउन सशस्त्र प्रहरी बलको बेसक्याम निर्माण तत्काल रोक्नसमेत माग गरेको छ । साथै बैठकले पाँचथर जिल्लाको याङ्वारक थुमको थर्पुमा रहेको ऐतिहासिक ‘याङ्वारक पोखरी आधुनिकरण गर्ने नाममा प्राचीन पुरातान्तिवक सम्पदा संरक्षण ऐन विपरीत धार्मिक अतिक्रमण गर्न लागिएकाले यस्तो कार्य नगर्न नगराउन बैठकले सम्बन्धित पक्षलाई सचेत गराएको विज्ञप्तीमा भनिएको छ ।लिम्बू र मैथिली भाषालाई प्रदेश नम्बर १ मा सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न भाषा आयोगले सिफारिस गरी यसको कार्यान्वयनको लागि  मस्यौदा विधेयक बनेकोमा यो प्रदेश सभाले पारित गरी कार्यान्वयन गर्न पर्नेमा सो कार्य नगरेकोमा प्रदेश सभाप्रति बैठकले खेद व्यक्त गर्दे  उक्त निर्णय अविलम्ब पारित र कार्यान्वयन गराउन ध्यानाकर्षण गराएको छ ।

याक्थुङ आदिवासीहरूको ऐतिहासिक, स्थल, थिबोङ याक्थुङ यक (गढ्ढी) किल्ला, राजधानी, चुम्लुङ स्थल, सामुहिक पूजास्थलहरू (यक्वादेन, चासोस्क्देन, माङ्हुक्वादेन, खामवादाम्मादेन, माङ्गेन्नादेन, माङ्युक्ना र माङधाना आदि समाधिस्थलहरू, मुन्धुममा वर्णित स्थलहरू जस्तै नाङ्खोल्याङ स्थित केसापलुङ,  आस्थाका धरोहर मुक्कुम्लुङ, सेसेलुङ, वाधिनलुङ, फक्ताङ्लुङ, मेन्छ्यायेम आदिहरू अविलम्ब सम्बन्धित स्थानीय याक्थुङ र लिम्बु आदिवासीको नाममा अभिलेखिकरण सूचिकरण र संरक्षण गर्न माग गरेको छ। साथै, पान्थर जिल्लाको नाम्भुन यकमा समाज सुधारक फाल्गुनन्दको सालिक राख्ने क्रममा भएको आपसी विवाद समाधिस्थलको संरक्षण गर्दै आपसी सहमतिकै आधारमा विवादको निरूपण गर्न सम्बन्धित पक्षहरूलाई आपसी समजदारीका आधारमा सहमती गर्न अनुरोध गरिएको छ । करिव २५ बुँदामा समेटिएको चुम्लुुङले गरेको निर्णयहरु  मेची कोशीका अधिकत्तर क्षेत्रहरुमा अवस्थित धार्मिक साँस्कृतिक अतिक्रमणको विषयहरु रहेको चुम्लुङका महासचिव तुम्बापोले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्