संघीय निजामती सेवा ऐनबारे ट्रेड युनियन संजालको बैठक सम्पन्न
काठमाण्डौं, – नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको आयोजनामा राष्ट्रियस्तरका ट्रेड युनियनहरुको संयुक्त बैठक शुक्रबार काठमाण्डौंमा सम्पन्न भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन
संघीय निजामती सेवा ऐन विधेयक २०८० मा समावेश गर्नुपर्ने विषयवस्तुहरूबारे छलफल गर्न बैठक आयोजना गरिएको हो।
संघ, प्रदेश, तथा स्थानीय तहका निजामती कर्मचारीहरूको हकहित र अन्तरसम्बन्धको सुनिश्चिततासहित ऐन यथाशीघ्र जारी गर्न दबाब सिर्जना गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको (नेराकस) का अध्यक्ष अम्बादत्त भट्टले बताए । ‘ संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुनुपर्छ भन्ने हाम्रो स्पष्ट साझा धारणा छ’, भट्टले भने, ‘संघ, प्रदेश, र स्थानीय तहका निजामती कर्मचारीहरूको हकहित सुनिश्चित गर्दै सक्षम, सशक्त जनमुखी प्रशासन निर्माण हाम्रो लक्ष्य हो।’
बैठकमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्वारा तयार पारिएको अवधारणा पत्र प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी न्यौपाने दाहाल, नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवाललगायतका वक्ताहरूले आफ्नो धारणा राखेका थिए।साथै, वैठकको अवसरमा पारेर नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको केन्द्रीय समितिको मुखपत्र ‘पराग’ छैटौं संस्करण सम्पूर्ण ट्रेड युनियन अध्यक्षहरूलाई सप्रेम हस्तान्तरण गरिएको थियो।