नारी दिवसको अवसरमा नेपाल राष्ट्रिय निजामती संगठन महिला विभागको आयोजनामा अन्तरक्रिया सम्पन्न
काठमाडौं। नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन महिला विभागले ‘नेपालको सार्वजनिक सेवामा लैङ्गिक सवालहरू र भावी मार्गचिविषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। ११५औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च २०२५) को अवसरमा आयोजित यस कार्यक्रममा लैङ्गिक समानता, महिला सशक्तिकरण, तथा नीति निर्माणमा महिलाको निर्णायक भूमिकाको अनिवार्यता माथि गहन छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले महिलाका हक, समानता, र सशक्तिकरणका लगि निरन्तर संघर्ष आवश्यक रहेको उल्लेख गर्दै, लैङ्गिक समानता बिना लोकतन्त्र अपूर्ण रहने बताइन्। उनले सार्वजनिक सेवामा महिलाहरूको समावेशीकरणको सुनिश्चितता बिना सुशासनको कल्पना गर्न नसकिने धारणा राख्दै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई प्रेरणादायी शुभकामना व्यक्त गरिन्।
विशेष अतिथिका रूपमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन अध्यक्ष अम्बादत्त भट्टले आफ्नो सम्बोधनमा निजामती सेवामा सुशासनको आधार स्तम्भ लैङ्गिक समानता नै हो भन्ने तर्क प्रस्तुत गरे। उनले राज्यको सेवा उत्तरदायी, प्रभावकारी र पारदर्शी बनाउन लैङ्गिक विभेद र समस्याहरूको जडैबाट उन्मूलन आवश्यक रहेको बताए। महिलामैत्री नीति, संरचना, तथा कार्यप्रणाली लागू गर्न सकिए मात्र नेपाल आधुनिक, समतामूलक राष्ट्रको रूपमा अघि बढ्न सक्ने उनले जोड दिए।
कार्यक्रममा सन् १९०८ मा न्यूयोर्क सिटीका १५ हजार महिलाले कार्यघण्टा घटाउने, उचित पारिश्रमिक पाउने लगायतका माग राख्दै गरेको ऐतिहासिक आन्दोलन स्मरण गर्दै सोही संघर्षकै विरासतलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरिआएको चर्चा गरियो।
कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका विज्ञ, कर्मचारी, तथा महिला अधिकारकर्मीहरूले लैङ्गिक समानता र सशक्तिकरणलाई नीति निर्माणको केन्द्रबिन्दुमा राख्नुपर्ने माग राख्दै, सरकारी सेवामा लैङ्गिक न्याय स्थापित गर्न थप ठोस कदम चाल्न सरकारलाई आग्रह गरे। संगठनले आगामी चैत २ गते शनिबार ललितपुरको गोदावरीमा विशेष वनभोजको आयोजना गर्ने जानकारी गराउँदै, सहभागिता सुनिश्चित गर्न सबै कर्मचारीहरूलाई उत्साहका साथ आमन्त्रण गरेको छ। कार्यक्रममा संगठनको महिला विभागकी उपाध्यक्ष यशोदा आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।