१८ गतेदेखि दोस्रो फालेलुङ पर्यटन महोत्सव आयोजना



 — पाँचथरको फालेलुङ गाउँपालिकाको थाप्लिटारमा आगामी चैत १८ गतेदेखि दोस्रो फालेलुङ पर्यटन महोत्सव आयोजना हुने भएको छ। भारतसँग सिमाना जोडिएका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले फालेलुङ गाउँपालिकाको पहलमा तथा तीन सिमाना जन सेवा समाजको व्यवस्थापनमा महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवले सो क्षेत्रका लाम पोखरी, सुके पोखरी, भैसेपोखरी, हेवा गङ्गा, तीनछाँगे झर्ना, पानावा झर्ना, मुवा झर्ना, नरेलुङ धाम, पुस्तके ढुङ्गा जस्ता पर्यटकीय स्थलहरूको प्रचार-प्रसार गर्नका साथै संरक्षणमा योगदान दिने अपेक्षा गरिएको छ। त्यस्तै, सो क्षेत्रमा पाइने २८ प्रजातिका गुराँस, रेडपाण्डा, गिद्ध, भालु, बँदेल, बनकुकुर, मृग, भीर मौरी, कण्ठे चाँचर, भ्याकुर, प्युरा लगायतका जीवजन्तु तथा चराचुरुङ्गीको संरक्षणका लागि पनि महोत्सवले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

चैत २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा खेलकुद, अन्तरक्रिया, भ्रमण तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। महोत्सवमा करीब १० हजारको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रमअन्तर्गत सूर्योदय र सूर्यास्त अवलोकन, पुरुष फुटबल, महिला म्याराथन, याक दौडजस्ता रोमाञ्चक गतिविधिहरू समेत समावेश गरिने आयोजक समितिले जानकारी दिएको छ।

फिदिममा आयोजित पत्रकार सम्मेलनमा आयोजक तीन सिमाना जन सेवा समाजका पदाधिकारीहरूले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका छन्। महोत्सव स्थलबाट कञ्चनजङ्घा, कुम्भकर्ण, सगरमाथासहित आधा दर्जनभन्दा धेरै हिमालहरूको दृश्यावलोकन गर्न सकिने विशेषता रहेको छ।

प्रतिक्रिया दिनुहोस्