कर्मचारीले लोक सेवा तयारी कक्षामा पढाउन नपाउने



 

२२ फागुन, काठमाडौं । बहालवाला कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् । संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा कर्मचारीहरुको आचरणको अन्तर्गत कर्मचारीले लोकसेवा परीक्षाको पुर्व तयारी कक्षा पढाउन नपाउने व्यवस्था गरिएको हो । उक्त कर्मचारी आचरण अन्तर्गत खुला बजारबाट शेयर खरिद गर्न भने पाउने व्यवस्था गरिएको छ ।त्यस्तै कर्मचारीले नेपाल सरकारको स्वीकृति विना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सन्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न पनि कर्मचारीले पाउने छैनन् । तर, खुल्ला बजारबाट शेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक शेयर खरिद गर्न भने सकिने छ भनि व्यवस्था छ ।

कतिपय कर्मचारीहरुले लोक सेवा तयारी कक्षामा पढाउने र कार्यालय समयमा पनि त्यसको नोट वा प्रश्नपत्र बनाएर बस्ने गरेको गुनासो बढेपछि सरकारले त्यस्ता कर्मचारीहरुलाई कडाइ गर्न खोजेको देखिन्छ ।त्यस्तैअन्तरसरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदार बाहेकका निकायबाट सन्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताको रुपमा काम गर्न, अवकाश हुने पछिल्लो एकवर्षभित्र बहाल रहेको निकायको कार्यक्षेत्रसँग सम्बन्धित रहेको संस्था वा त्यस्तो निकायले नियमन गर्ने संस्थाको कर्मचारी वा परामर्शदाताको रुपमा काम गर्न पनि पाइने छैन भनि ऐनले व्यवस्था गरेको छ ।संघीय निजामती सेवा विधेयकमा कर्मचारीहरुले अन्य मुलुकको स्थायी आवासीय अनुमति लिन वा सोका लागि आवेदन दिन नपाउने साविकको व्यवस्था पनि यथावत राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्