प्रथम तुम्बेवा महोत्सवको अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता
पाँचथर, २० फागुन २०८१ – दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकास्थित मौवा बजारमा यही फागुन २७ गतेदेखि पाँच दिनसम्म चल्ने प्रथम तुम्बेवा महोत्सवको अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गरिने भएको छ।
तुम्बेवा गाउँपालिकाको सहयोगमा कोर्काली अध्ययन केन्द्र, पाँचथरले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा सहभागिता जनाउन इच्छुक स्रष्टाहरूले फागुन २५ गते दिउँसो २ बजेभित्र आयोजकलाई कविता पठाइसक्नुपर्नेछ। प्राप्त कविताहरूबाट उत्कृष्टलाई छनोट गरी प्रतिस्पर्धाका लागि प्रतियोगिता स्थलमा वाचन गर्न निमन्त्रणा गरिनेछ, कोर्काली अध्ययन केन्द्रका अध्यक्ष रविन तिम्सिना कोर्कालीले जानकारी दिए।
छनोटमा परेका कविहरूका लागि खानपान र बसोबासको व्यवस्था आयोजक समितिले मिलाउनेछ। प्रतियोगितामा विजयी हुनेहरूलाई निम्नअनुसार नगद पुरस्कार प्रदान गरिनेछ:
- प्रथम पुरस्कार: नगद ५०,००० रुपैयाँ
- द्वितीय पुरस्कार: नगद २५,००० रुपैयाँ
- तृतीय पुरस्कार: नगद १२,००० रुपैयाँ
महोत्सवको अवसरमा कविता प्रतियोगितासहित कृषि प्रदर्शनी, रैथाने संस्कृति प्रदर्शनी, पुरुष तथा महिला फुटबल प्रतियोगिता, साथै तुम्बेवा गाउँपालिकालाई प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू समावेश गरिने गाउँपालिका अध्यक्ष बाबुराम खड्काले बताए।
महोत्सवलाई भव्य बनाउने उद्देश्यले तयारी तीव्र पारिएको छ। महोत्सव आयोजना हुने स्थल मौवा बजारलाई विशेष रूपमा सिंगार्ने कार्य भइरहेको छ, गाउँपालिका उपाध्यक्ष खड्ग सुन्दर सम्बाहाम्फेले जानकारी दिए।