‘नो केबलकार आन्दोलन’लाई अझ सशक्त बनाउन प्रत्येक गाउँबाट कम्तीमा ५०० जना, एक घर एक सदस्य



मुक्कुमलुङ संरक्षणका लागि ‘नो केबलकार आन्दोलन’लाई अझ सशक्त बनाउन प्रत्येक गाउँबाट कम्तीमा ५०० जना, एक घर एक सदस्य अनिवार्य रूपमा सहभागी हुन आवश्यक देखिन्छ, किनकि शान्तिपूर्ण आन्दोलनलाई दबाउने जुनसुकै प्रयास अन्ततः ठूलो विस्फोटमा परिणत हुन सक्छ। मुक्कुमलुङ केवल एउटा डाँडो मात्र होइन, यो प्राकृतिक रूपमा अनुपम सुन्दरतासँगै सांस्कृतिक, धार्मिक आस्थाको केन्द्र र हजारौँ वर्ष पुरानो मुन्धुमी सभ्यताको नाभी हो, जसलाई केही लोभी, पापी, संकीर्ण सोच भएका जनप्रतिनिधिहरूको स्वार्थका लागि नष्ट गर्न दिइनु हुँदैन। सत्तारूढ दललाई सत्तामा पुर्याउने कांग्रेसका ७०% मतदाता र एमालेका कार्यकर्ताहरू समेत आन्दोलनमा सहभागी छन्, तर तिनै मतदातामाथि सरकारले दमन गर्न खोजेमा त्यसको मूल्य चुकाउनुपर्नेछ। ताप्लेजुङका हकमा कसको नाता सम्बन्ध कहिलेदेखि हो, इतिहास आफैँ जान्नेछ, तर हामी भने मुन्धुम सभ्यता ७–१० हजार वर्ष पुरानो मौलिक पहिचानको रक्षा गर्न लागिरहेका छौँ, जुन केवल कल्पना होइन, एकेडेमिक अध्ययनबाट पुष्टि भइसकेको विषय हो। नेपाली ज्ञान प्रणालीमा सबैभन्दा मौलिक, प्राचीन र यहीँको माटोबाट सिर्जित ज्ञान भनेकै मुन्धुमी सभ्यता हो, जसको संरक्षण गर्नु पर्ने कि नष्ट गर्न उधत हुने भन्ने विवेक सरकारसँग हुन जरुरी छ। सत्ताको अहंकारले आफैंलाई त डुबाउनेछ नै, समाज र मुलुकलाई समेत पछि धकेल्ने छुट सरकारलाई छैन, त्यसैले मुन्धुम, डाँडो, हिमाल, खोला, जीव-जन्तुहरूसँगको अन्तरसम्बन्धबारे थाहा नभए समय छुट्याएर आउनुहोस्, हामी यसको दर्शन, महिमा, गौरव र सौन्दर्यका विषयमा कक्षा दिन तयार छौँ, तर पहिले सत्ताको अहंकार त्याग्नुहोस्, किनकि तपाईंहरूलाई सत्तामा पुर्याउने भुइँमान्छेहरूको भूमिकालाई पछुतोमा परिणत नगराउन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्