शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रमसहित मनाइँदै
१६ फागुन, काठमाडौं – शेर्पा समुदायले बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रमसहित मनाइँदै छ।
यस वर्ष शेर्पा समुदायले २१५२ नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। यो पर्व मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र वराह गरी १२ वर्गमा विभाजन गरिएको छ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म भव्य रूपमा मनाइन्छ। अनुसन्धानकर्ता टीका शेर्पाका अनुसार, यो पर्व भोटका नवौँ राजा उदे गुङ्ग्यालको पालादेखि वसन्त पर्वका रूपमा मनाउन सुरू गरिएको थियो, जसलाई पछि ग्याल्पो ल्होसार नाम दिइयो।
यो पर्वलाई कतै ग्याल्पो त कतै ग्याल्बो भनेर उच्चारण गर्ने गरिएको पाइन्छ। विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मात्र मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा विस्तार भइसकेको छ, जसको मुख्य कारण शेर्पा समुदायको बसाइँसराइ हो।