अपराधिक गतिविधि गर्नेलाई कारबाही गर्दा राजनीतिक दलबाट हस्तक्षेप सह्य हुन्न : उपकुलपति बराल
१४ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्केशरजंग बरालले विश्वविद्यालयमा आन्दोलन र तोडफोड रोक्ने विश्वविद्यालयभित्र अपराधिक गतिविधि गर्ने, संस्थालाई हानी गर्नेहरुलाई कारबाही गर्दा राजनीतिक दलबाट हस्तक्षेप हुन नहुने बताएका छन् । उनले प्राज्ञिक संस्कृति विकास गर्न अति आवश्यक रहको बताएका छन् ।
सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले विश्वविद्यालय बिग्रिँदा देशको उच्च शिक्षा नै बिग्रिने कुरा राजनीतिक दलहरुले पनि बुझ्नुपर्ने बताएका हुन् । ‘नेतृत्वहरुले बुझ्दै जानुभएको जस्तो लागेको छ । त्रिविबारे उहाँहरुले देखाइरहनुभएको चासो सकारात्मक छ’, उनले भने ।
‘मैले कुलपति ज्यूलाई मलाई मेरो टिम बनाउन दिनसक्नुहुन्छ भनेर सोधें । कुलपति ज्यूले तपाईंले आफ्नो टिम बनाउन सक्नुहुन्छ, तपाईंलाई अप्ठ्यारो भए सरकारको पूर्ण रुपमा सहयोग हुनेछ भन्नुभयो’, उपकुलपति बरालले भने । शैक्षिक क्यालेन्डर लागू गरेर समयमा परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र पाठ्यक्रम अध्यावधिक गर्ने हो भने विद्यार्थी आकर्षित गर्न सकिने बताए ।चारवर्षे कोर्षलाई तीन वर्षेमा झार्ने तर चार वर्षे स्नातक हुने देशमा जानेहरुका लागि थप एक वर्षे कोर्ष राख्न सकिने उपकुलपति बरालको भनाइ छ ।