सुनुवार भाषा र साहित्यका ‘दिग्गज’ लोकप्रिय सुनुवारको अर्को महत्वपूर्ण कृति सुनुवार भाषा सिकौं
सुनुवार भाषा र साहित्यका ‘दिग्गज’ लोकप्रिय सुनुवारको अर्को महत्वपूर्ण कृति सुनुवार भाषा सिकौं (कोइँचलो : शैँसै) पुस्तकको विमोचन सम्पन्न भएको छ। यो विमोचन समारोह राजधानी काठमाडौंको आनामनगरस्थित युनियन हाउसमा, लेखक लोकप्रिय सुनुवारको ७४औँ जन्मदिवसको अवसरमा आयोजना गरिएको थियो। उक्त अवसरमा लेखक लोकप्रिय सुनुवार स्वयं तथा उहाँकी छोरी मनोरमा सुनुवारले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो।
यस पुस्तकले सुनुवार भाषा सिक्न चाहनेहरूका लागि मार्गदर्शन प्रदान गर्नेछ भने भाषा र लिपीसम्बन्धी ज्ञान हासिल गर्न खोज्ने सुनुवार समुदायका सदस्यहरूलाई विशेष रूपले लाभान्वित गर्ने अपेक्षा गरिएको छ।
लोकप्रिय कुइँच सुनुवार २००८ सालमा ओखलढुंगाको खिजी चण्डेश्वरीमा जन्मिनुभएको हो। सुनुवार भाषा, संस्कृति तथा साहित्यका ज्ञाताका रूपमा परिचित उहाँले तीन दशकसम्म नेपालको बैंकिङ क्षेत्रमा योगदान दिनुका साथै लोपोन्मुख भाषा तथा संस्कृतिको संरक्षणमा विशेष भूमिका खेल्नुभएको छ।
सुनुवार भाषा संरक्षण र प्रवर्द्धनका लागि लामो समयदेखि क्रियाशील रहनुभएका उहाँ गोरखापत्र संस्थानअन्तर्गत प्रकाशित हुने सुनुवार भाषा पेज का संयोजकका रूपमा समेत दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ।