२ सय २२ विद्यार्थीले केआइटी छोडे : भारतलाई नराम्रो धक्का
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) प्रशासनले कुटपिट गर्दै जबर्जस्ती निकालेका २ सय २२ जना नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । उनीहरु प्रकृति लम्सालको शंकास्पद मृत्युपछि न्यायिक छानबिनको माग राख्दा कुटपिटमा परेका थिए ।
विश्वविद्यालयको होस्टेलबाट निकालिएका विद्यार्थी कोही बसबाट, कोही रेलमार्ग हुँदै जोगवनी नाका भएर आफ्नो देश आइपुगेका हुन् ।
केआइआइटीमा करिब १ हजार ५ सय विद्यार्थी चारवर्षे बिटेक इन्जिनियरिङ पढिरहेका छन् । केही भारतीय दूतावासको छात्रवृत्तिमा गएका हुन् भने धेरैजना चारवर्षे कोर्सका लागि आवासीय व्यवस्थासहित १२ लाख २५ हजार भारतीय रुपैयाँ तिरेर गएका छन् ।
नेपाली किशोरी हत्या प्रकरणले बदनाम भएको कलेजका अधिकांश विद्यार्थी त्यहाँबाट बाहिरिएका छन् । र, यो कलेजको भविष्य पनि राम्रो नहुने भारतीय सञ्चारमाध्यमहरुले नै जनाउन थालेका छन् । भारतमा मात्र नेपालबाट झण्डै ५० हजार विद्यार्थी अध्ययनमा जाने गरेका छन् ।