“ख्लासी अनिउ”को विशेष प्रदर्शनी हुने
काठमाडौं । रोशी डिजिटल प्रा. लि.को प्रस्तुती अरूण घिसिङको निर्माण तथा निर्देशनमा बनेको तामाङ कथानक चलचित्र “ख्लासी अनिउ” निर्माणको करीव करीव अन्तिम चरणमा रहेको र चलचित्रलाई आगामी फागुन १७ गते शनिवार राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गर्ने तयारीमा रहेको कार्यकारी निर्मात्री तथा चलचित्रकी नायिका इन्दिरा वाइबाले जानकारी दिनुभएको छ । चलचित्रकी नायिका वाइबाका अनुसार चलचित्र विशुद्ध सामाजिक , साँस्कृतिक र पारिवारिक प्रेमकथामा आधारित रहेको छ ।
चलचित्रको कथा ऋतुराज पाख्रीनले लेखेका छन् भने नृत्य निर्देशन अजय स्याङ्तानले गरेका हुन् । बिक्रम मोक्तानको छायाङ्कन रहेको चलचित्रमा द्वन्द राजु तामाङको रहेको छ । चलचित्रमा अमृत लामाले संगीत दिएको बताइएको छ ।
चलचित्रका मुख्य कलाकारहरुमा ऋतुराज पाख्रीन , इन्दिरा वाइबा , सुश्मा मोक्तान,निश्वल योञ्जन , कुइसाङ रुम्वा , प्रकाश तामाङ , बाबुराम तामाङ,राज कुमार पाख्रीन अनिता नेगि, राजु नेगि लगायत रहेका छन भने चलचित्रको छायाङ्कन सिन्धुली,दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ , काभ्रेको तेमाल,नेपालथोक साथै खुर्कोट जस्ता रमणीय स्थानहरुमा समेत गरिएको थियो ।