इँटा भट्टामा सहज जीवन खोज्दै रोल्पाली
काठमाडौँ — उपत्यकाको ललितपुरमा ३० भन्दा बढी इँटा भट्टा सञ्चालनमा छन् । मंसिर, पुस र माघमा इँटा कारखानामा छुट्टै रौनक देखिन्छ । चिम्नीबाट निस्केको धुँवाको मुस्लोसँगै मजदुरहरु इँटा कारखानामा व्यस्त छन् बुङमतीमा आजभोलि । कारखानामा व्यस्त हुने मजदुरमध्ये आधाजसाे रोल्पाली छन् ।
रोल्पा र रोल्पालीहरुले २५ वर्ष अगाडि आजकै दिन सहज जीवनको सपना बोकेर लडेका थिए। तर, इँटाको धुलो र चिम्नीको धुवाँको मुस्लो भित्रको जीवन अहिले निकै कठिन छ।
रोल्पाकी २३ वर्षीय मनकुमारी घर्ती इँटा कारखानामा काम गर्न आएको २ महिना भयो। श्रीमान चुलबहादुर सँगै १ वर्षे नानी काखमा च्यापेर काठमाडौं आइपुगिन मनकुमारी।
गाउँको ऋण तिर्न लागि आफ्नो काखे नानी छेउमा राखेर इँटा बोक्दै थिइन्। दैनिक ८ सयदेखि १ हजार इँटा बोक्छिन्। आफूले कति कमाउँछु भन्ने पनि थाहा छैन उनलाई। गएको हप्ता इँटा बोकेकै कारण उनको ढाड र पेट नमज्जाले दुख्यो। सञ्चो भएको भोलिपल्टदेखि फेरि आफ्नो काममा फर्किन्। ‘खाने मुख छ काम त गर्नैपर्यो’ उनका श्रीमान चुलबहादुर भन्छन्।
रोल्पाबाट आएकी शर्मिला विक साहुबाट लिएको पैसा तिर्न नसकेपछि तिनै साहुमार्फत यहाँ काम गर्न आएकी रहिछिन्। साहुहरु ठेकेदार सरह हुन्। उनीहरुले गाउँ ठाउँबाट इँटा भट्टामा काम गर्ने मानिसहरु भेला पार्छन्।३१ वर्षीय बुद्धिराम मगरले सानैमा इँटा भट्टामा काम गर्न सुरु गरेका थिए। त्यसपछि उनी विदेश गए अहिले फेरि फर्किएका छन् इँटाको खातमा।
‘विदेशमा हुँदा पैसा बच्थ्यो बरु यहाँ त फुरमासी खर्च धेरै हुन्छ’ उनी भन्छन्। दैनिक इँटा बोकेर ८ सय देखि १२ सयसम्म कमाउँछन्। काममा खटिएको दिन त्योभन्दा धेरै पनि हुन्छ। मगर पानी पर्ने मौसममा रोल्पामै खेती किसानी गर्न फर्किन्छन्। वर्षमा ५–६ महिना उनी यतै इँटा भट्टामा बिताउँछन्।